प्रशिक्षार्थीका नाममा आफन्त भर्ति गर्न कार्यविधि, सरकारी कर्मचारीको अविश्वास बढाउँदै शिक्षामन्त्री

काठमाडौँ । प्रशिक्षार्थी भर्ति गर्न शिक्षा मन्त्रालयले कार्यविधि बनाउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महाशाखा, शाखा र मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी प्रशिक्षार्थी कर्मचारी खटाउने र यसका लागि कार्य विधि नै बनाउने तयारी भइरहेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रिपरिषदबाटै निर्णय गराएर शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत गरेकी छन् । कार्यविधिमा उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा कामकाजमा लगाउन सकिने उल्लेख छ ।

निजामती प्रशासनमाथि शिक्षामन्त्रीको अविश्वासले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि बनाइएको आरोप मन्त्रीमाथि लागेको छ । निजामती कर्मचारीसरह सरकारी सूचनामा पहुँच हुने गरी उत्प्रेरकको नाममा ‘बाहिरिया’ को खटनपटन गराउन लागिएको भन्दै शिक्षा मन्त्रालयका कर्मचारीहरू भने रुष्ट छन् ।

मन्त्रालयका कर्मचारीलाई अविश्वास गर्दै प्रशिक्षार्थीबाट कामकाज चलाउने उद्देश्यले शिक्षामन्त्रीले कार्यविधि स्वीकृत गरेको आरोप मन्त्री श्रेष्ठमाथि छ ।

मन्त्रालयकै कतिपय शाखा अर्थहीन र कर्मचारी कामविहीन भएका बेला उनीहरूलाई उपयोग गर्नुपर्नेमा प्रशिक्षार्थीका रूपमा ‘आसेपासे’ भित्र्याउन लागिएको भन्दै उनले असन्तुष्टि जनाए ।

कार्यविधिअनुसार मन्त्रालयको आवश्यकता, महाशाखागत कार्य चाप, विषयगत क्षेत्र र प्रशिक्षार्थीका रुचिअनुसार उनीहरूलाई परिचालन गरिनेछ । आवेदन माग गर्ने र त्यसमध्येबाट सर्टलिस्ट गरेर सिधै प्रशिक्षार्थी कर्मचारी छनोट गरिने कार्यविधिमा उल्लेख छ ।

शिक्षा उत्प्रेरक छनोट तथा सिफारिस समितिमा शिक्षा सचिव संयोजक रहनेछन् भने योजना तथा अनुगमन महाशाखाका सहसचिव र मन्त्रालयले तोकेको विज्ञ सदस्य रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज