काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाड्ने भएको हो ।
महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी उच्च प्रहरी श्रोतले कानुन खबरलाई जानकारी दिएको छ ।
सुन तस्करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई संगठित अपराध कसुरमा महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो । प्रहरीले महरालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो तर महरालाई टीबी, युरिक एसिड, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या रहेको भन्दै हाजिरी जमानीमा छाड्न लागिएको बताइएको छ ।