छिमेकीको गोपनीयतामा असर पर्ने गरी सीसीटीभी राख्न नपाइने अदालतको फैसला

काठमाडौँ । भारतमा छिमेकीको निजी जीवन र गोपनीयतामा हस्तक्षेप हुने गरी निजी सीसीटीभी क्यामेरा जडान गर्न वा त्यसको दिशा निर्धारण गर्न नपाइने कानुनी सिद्धान्त प्रतिपादन भएको छ ।

भारतको इलाहाबाद उच्च अदालतले छिमेकीको घरको गतिविधि निगरानी हुने गरी सीसीटीभी राख्नु निजताको अधिकारमाथिको गम्भीर हस्तक्षेप हुने ठहर गरेको हो । न्यायाधीशद्वय अजित कुमार र गरिमा प्रसादको संयुक्त इजलासले कुनै पनि व्यक्तिले आफ्नो सुरक्षाका लागि क्यामेरा राख्दा अरूको गोपनीयताको सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ ।

योगेन्द्र मौर्यले आफ्नो छिमेकीले जडान गरेको सीसीटीभी क्यामेराले आफ्नो घरको प्रवेशद्वार र बाहिरिने स्थानसमेत रेकर्ड गर्ने गरेको भन्दै अदालतमा रिट निवेदन दिएका थिए । निवेदकले छिमेकीको क्यामेराका कारण आफ्नो घरमा आउनेजाने व्यक्तिको गोपनीयता प्रभावित भएको र यसले मानसिक तनाव दिएको दाबी गरेका थिए ।

अदालतले सुनुवाइका क्रममा व्यक्तिको निजी सम्पत्तिमा सुरक्षाका लागि उपकरण राख्न पाउने अधिकार भए पनि त्यसले अर्को व्यक्तिको मौलिक हक र गोपनीयताको सीमा नाघ्न नहुने उल्लेख गरेको छ । अदालतले क्यामेराको दिशा र त्यसले खिच्ने दृश्यले छिमेकीको निजी क्षेत्रलाई समेट्न नहुने व्याख्या गरेको छ ।

अदालतले विवादित क्यामेरा तत्कालै हटाउन आदेश नदिए पनि राहतका लागि सम्बन्धित जिल्ला मजिस्ट्रेटसमक्ष निवेदन दिन निवेदकलाई निर्देशन दिएको छ । यस्तो निवेदन प्राप्त भएको एक महिनाभित्र आवश्यक छानबिन गरी निर्णय लिन समेत अदालतले स्थानीय प्रशासनलाई आदेश दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज