चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी, मंसिर ४ मा सर्वदलीय छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत महिनाको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी आन्तरिक तयारी तीव्र पारेको छ। संवैधानिक र कानुनी प्रावधानअनुसार निर्वाचनको मिति तय गर्न आयोगले सरोकारवाला पक्षहरूसँगको परामर्शलाई अघि बढाएको हो।

निर्वाचनको अनुकूल वातावरण तयार पार्न र पूर्वतयारीबारे सुझाव लिन आयोगले आगामी मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूसँगको छलफलपछि निर्वाचन मितिका विषयमा ठोस निष्कर्ष निकालिनेछ।

प्रवक्ता भट्टराईले संविधान र प्रचलित कानुनको परिधिभित्र रहेरै निर्वाचनको मिति घोषणा गरिने स्पष्ट पार्नुभएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। संवैधानिक प्रावधानअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।

यसरी आगामी चैतको पहिलो साता चुनाव गर्ने मुख्य लक्ष्यका साथ आयोगले मंसिर ४ गते राजनीतिक दलहरूसँगको बैठकलाई निकै महत्वका साथ हेरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज