काठमाडौँ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएका छन्। गत वैशाख २६ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समयसीमा तोकेर आह्वान गरेबमोजिम शनिबार साँझसम्म उक्त संख्यामा उजुरी परेका हुन्।
संसद् सचिवालयका अनुसार सर्वसाधारणले आगामी सोमबार कार्यालय समयभित्रसम्म डा. शर्माविरुद्ध उजुरी दिन सक्नेछन्। प्राप्त उजुरीहरूलाई आगामी मंगलबार समितिको बैठक राखेर खोल्ने र त्यसपछि विस्तृत अध्ययनका लागि समितिका सबै सदस्यहरूलाई वितरण गर्ने तयारी भइरहेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिनका लागि समितिले विभिन्न सुविधायुक्त माध्यमहरूको व्यवस्था गरेको छ। उजुरीकर्ताले हुलाक, इमेल वा सिधै संसदीय सुनुवाइ समितिको सचिवालयमा पुगेर पत्रमार्फत आफ्ना उजुरी दर्ता गराउन सक्नेछन्। यसका साथै सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखी वा देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी पठाउन सकिने सचिवालयले जनाएको छ। समितिले उजुरी दर्ता गर्दा हचुवाका भरमा नभई विषयवस्तुको स्पष्ट आधार र कारण खुलाउन आग्रह गरेको छ। संवैधानिक परिषद्को सिफारिसमा परेका डा. शर्मालाई संसदीय सुनुवाइ समितिले आवश्यक अध्ययन र सुनुवाइपछि अनुमोदन गरेमा मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने व्यवस्था रहेको छ।

