कोरोला नाका हुँदै काठमाडौँ ल्याइँदै गरेको ५९० कार्टुन चिनियाँ भेप मुस्ताङमा बरामद, दुई कन्टेनरसहित तीन जना सुरक्षा नियन्त्रणमा

काठमाडौँ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले शुक्रबार राति ठूलो मात्रामा चिनियाँ भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ। ना ६ख ४७४३ र ना ५ख ७९२१ नम्बरका दुई वटा कन्टेनरमा लोड गरी चीनको कोरोला नाका हुँदै काठमाडौँतर्फ ल्याउँदै गरेको ५९० कार्टुन भेप नियन्त्रणमा लिइएको हो। अवैध रूपमा सामान ओसारपसार गरिरहेको अवस्थामा फेला परेका ती कन्टेनर र ओसारपसारमा संलग्न तीन जनालाई सुरक्षा निकायले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका वडा नम्बर–३ बस्ने उनका साथी पासाङ शेर्पा रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले एक्लेभट्टीमा आकस्मिक जाँच गर्ने क्रममा उक्त परिमाणको सामग्री फेला पारेको हो।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बरामद गरिएका कन्टेनरहरूमा भेपका अतिरिक्त अन्य व्यापारिक वस्तुहरू समेत लुकाएर ल्याएको पाइएको छ। सुरक्षा टोलीले भेपसँगै २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र सामान प्याकिङमा प्रयोग गरिने १५ केजी खाली कार्टुन बक्स समेत बरामद गरेको छ। पक्राउ परेका तीनै जना व्यक्तिहरूलाई कानूनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ भने बरामद गरिएका कन्टेनर र सम्पूर्ण सामग्रीहरू आवश्यक प्रक्रियाका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज