लिपुलेक नाका र मानसरोवर यात्राबारे नेपालको आपत्तिमा भारतको जवाफ: नेपाली दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर

काठमाडौँ। लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपालले व्यक्त गरेको चासोप्रति भारत सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै नेपालका दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएको छ। चीन र भारतले लिपुलेक हुँदै मानसरोवर यात्रा सुचारु गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

जसको जवाफमा भारतीय विदेश मन्त्रालयले आफ्नो अडान सुस्पष्ट र निरन्तर रहेको स्पष्ट पारेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएकाले यो कुनै नयाँ विकास नभएको दाबी भारतले गरेको छ।

विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य नहुने उल्लेख गर्दै त्यस्ता दाबीहरूलाई भारतले तथ्यहीन मान्दै आएको जनाएको छ। यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि आफू सधैं तयार रहेको बताएको छ। सीमासम्बन्धी बाँकी रहेका विवादित विषयहरूलाई कूटनीतिक माध्यमबाटै समाधान गर्न सकिने विश्वास समेत भारतीय पक्षले व्यक्त गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज