काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको र गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। आयोगको सोही प्रतिवेदनका आधारमा यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्।
आन्दोलनका क्रममा रबरको गोली चलाउन मौखिक आदेश दिएको स्वीकारे पनि सीधै गोली हान्ने अनुमति नदिएको बयान दिएका रिजालमाथि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदा कर्मचारी सरुवामा ‘सेटिङ’ र भ्रष्टाचार गरेको अर्को गम्भीर आरोप पनि छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि कर्मचारीहरूलाई अध्यागमन र आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरण विपरीत काम गरेको र आर्थिक लेनदेनमा संलग्न रहेको भन्दै विशेष अदालतमा अनुसन्धान भइरहेको जनाएको छ।

