भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नगरे सडक आन्दोलनमा उत्रिने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग तत्काल गठन नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् अवरुद्धको आन्दोलनलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर सडक आन्दोलनको तयारी गर्ने बताए।

“हामीले स्पष्ट भनिसक्यौं, भिजिट भिसा प्रकरणमा नैतिकता देखाउन गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” लिङ्देनले भने, “राजीनामा नगरे पनि छानबिन आयोग गठन हुनैपर्छ, दोषी पुष्टि भए कानुनी कारबाहीबाट कोही पनि जोगिन सक्दैन।”

लिङ्देनले संसद्को अवरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गरिरहेको भन्दै सभामुख देवराज घिमिरेप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “संसद् अवरुद्ध गर्दा पनि सभामुख र सरकारले जुन ढंगले उपेक्षा देखाइरहेका छन्, त्यसलाई नेपाली जनताले नियालीरहेका छन्।”

उनका अनुसार राप्रपा यस सेसनभर संसद्मा निरन्तर विरोधमा रहने छ र आवश्यक परे रास्वपासँग मिलेर संयुक्त आन्दोलनको तयारी गर्नेछ।

फरक प्रसंगमा उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँड गर्दा केही कमजोरी भएको स्वीकार गर्दै गल्ती सच्याएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

सम्बन्धित समाचार

ताजा न्यूज