काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष तोक्ने विषयमा प्रारम्भिक सहमति जुटाए पनि, लागू हुने समयावधि तय गर्न भने सहमति जुटाउन सकेको छैन।
अहिलेसम्म अवकाशको उमेर हद ५८ वर्ष रहेको छ। प्रतिनिधिसभाले विधेयक पास गर्दा यसलाई क्रमशः ५८ बाट ५९ र त्यसपछिका वर्षमा ६० वर्ष लागू गर्ने व्यवस्था प्रस्ताव गरेको थियो।
विधायन समितिको बैठक आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्यो। दिउँसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने तय भए पनि बैठक केही ढिला गरी सुरु भयो। दिउँसो र साँझ सवा ७ बजेसम्म छलफल हुँदा पनि अवकाशको उमेर हद लागू गर्ने समयावधि तय गर्न सकिएको छैन।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयक ऐनमा परिणत भएको वर्ष नै उमेर हद ५९ वर्ष लाग्ने प्रस्ताव राखेकी थिइन्। तर, विपक्षी दलहरूले यसलाई स्वीकृत नगरेका कारण बैठक स्थगित भएको हो। बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।

