काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेका शवको हड्डी निकालेर बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्ति धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले जनही १० हजार रुपैयाँ धरौटी माग गर्दै उनीहरूलाई शुक्रबार रिहा गर्ने आदेश दिएको हो।
रिहा हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।
गत साउन २३ गते राम शाहीको अन्त्येष्टि पशुपति आर्यघाटमा भइरहेको बेला आधा जलेको शवको टाउकाको हड्डी निकालिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा जीवनाथ ढकालले हड्डी निकालेर विनायक मैनालीलाई दिएको र मैनालीले उक्त हड्डी कपुरको बट्टामा राखी रामनन्दन ठाकुर र मिश्रीलाल यादवलाई बुझाएको विवरणसमेत खुलेको छ।
उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअन्तर्गत धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

