एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई थुनामै राख्न सर्वोच्चको आदेश, बन्दीप्रत्यक्षीकरणको रिट खारेज

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई रिहा गर्न माग गर्दै दायर गरिएका बन्दीप्रत्यक्षीकरणका छुट्टाछुट्टै रिट निवेदनहरू खारेज गर्ने फैसला गरेको हो। सर्वोच्च अदालतले उनीहरूलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउने कार्य कानून र विधिसम्मत नै रहेको ठहर गरेको छ।

आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै कोषाध्यक्ष जोशीकी पत्नी शोभा जोशी र लेखापाल पाण्डेकी पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारी कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि खेलमा मिलेमतो (म्याच फिक्सिङ), आर्थिक अनियमितता तथा ठगीसम्बन्धी कसुरमा सीआईबीले गहन अनुसन्धान गरिरहेको छ।

यसैबिच, सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत मङ्गलबार एन्फामाथि भइरहेको छानबिनका क्रममा केही नयाँ र गम्भीर तथ्यहरू फेला परेको जानकारी दिएका थिए। सर्वोच्चको यस आदेशसँगै सीआईबीलाई उनीहरूमाथि थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउने बाटो खुला भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज