काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन आयोजना गर्न लागेको जानकारी गराउँदै पेस गरेको पत्रलाई निर्वाचन आयोगले प्रशासनिक प्रक्रियाअनुसार दर्ता गरी अभिलेखमा राखेको छ।
देउवा समूहका तर्फबाट पूर्वसभापति शेरबहादुर देउवाले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको विस्तृत कार्यतालिकासहितको पत्र निर्वाचन आयोगमा पठाएका थिए।
राजनीतिक दलका गतिविधि र पत्राचार प्राप्त भएपछि त्यसलाई नियमअनुसार दर्ता गर्ने नियमित प्रशासनिक प्रक्रिया रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। “निर्वाचन आयोगको काम दलहरूसँग सम्बन्धित विषयहरू हेर्ने भएकाले कसैले पत्र पठाउँदा प्रशासनिक रूपमा दर्ता हुन्छ। सोही प्रक्रियाअन्तर्गत यो पत्र पनि अभिलेखमा राखिएको हो,” घिमिरेले भने।
नेपाली कांग्रेसको आधिकारिकताका सम्बन्धमा आयोगले यसअघि नै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको र उक्त विवादको कानूनी निरूपण सर्वोच्च अदालतबाट समेत भइसकेकाले हाल यस पत्रमाथि थप कुनै निर्णय गरिरहनु पर्ने अवस्था नरहेको आयोगको भनाइ छ।
सूचना अधिकारी घिमिरेले यो केवल प्रशासनिक प्रक्रिया मात्रै भएकाले आयोगले सो पत्रमाथि कुनै नयाँ निर्णय वा कदम नचालेको स्पष्ट पारेका छन्। यसअघि विशेष महाधिवेशन आयोजना गर्ने क्रममा गगन थापा समूहले पनि महाधिवेशन गर्नेसम्बन्धी पत्र आयोगमा बुझाएको थियो।

