यो डायरी अघिल्लो हप्ताको हो। यो डायरी लेखिरहँदा हामी बाबु-छोरा दक्षिण कोरियाको बुसान शहरबाट राजधानी सियोलतर्फ मोटरबाटो हुइँकिँदै थियौँ। बुसान घुम्ने क्रममा सामुद्रिक तट त विशेष पर्यटकीय आकर्षणको क्षेत्र भइहाल्यो, त्योबाहेक खासगरी कोरियाको इतिहास, सभ्यता र विकासको अनुभूति गर्ने विचारले बुसान अवस्थित म्युजियमहरूमा धेरै समय बिताइयो। यसअघि सन् २०१९ मा अन्तर्राष्ट्रिय बार एसोसिएसनको कार्यक्रममा म सियोल आएको थिएँ। उक्त कार्यक्रममा मेरो कार्यपत्र प्रस्तुति थियो। यसपालिको यात्रा ‘ल एसिया’को कार्यसमिति बैठक र सम्मेलन, मुट कोर्ट प्रतियोगितामा न्यायाधीशको भूमिका निर्वाह गर्ने लगायत अन्य कार्यक्रमहरूमा व्यस्त हुने थियो अनि भइयो।
सन् १९५० सम्म आन्तरिक र बाह्य युद्धबाट ग्रसित राज्य कसरी केही दशकमै विश्वको एउटा विकसित, मजबुत अर्थव्यवस्था भएको राज्यमा पुग्न सक्छ भन्ने उदाहरणका रूपमा कोरियालाई देखियो, बुझियो। तर कोरियासँगसँगै हामीले परिवर्तन गरेको व्यवस्थासँगै हामी कसरी अझै विकास र परिवर्तनका लागि संघर्षशील छौँ भन्ने सन्दर्भमा यात्राको क्रममा जेन-जी (Gen Z) उमेरको छोरासँग बुझ्न मन लाग्यो।
अघिल्लो वर्ष जेन-जी आन्दोलनको दिन बानेश्वरको ग्लोबल कलेजबाट बाहिर निस्किँदै गर्दा अनुभूत गरेको जेन-जी आन्दोलन र आफ्नै उमेरका धेरै विद्यार्थीहरूलाई गोली लागेको घटनाले छोरो अत्यन्त चिन्तित थियो। सोही दिन मुद्दा मामिलाबाट पोखरा हुँदै बन्दीपुर आइपुगेका म, अ. मुरारी सापकोटा र अ. रामकुमार माझी बेलुका बन्दीपुर आइपुग्दा जेन-जी पुस्ताहरू प्रहरीको निर्मम गोलीबाट साँझसम्म मृत्यु वरण गरिसकेको समाचारले रात सजिलै कटेन। बन्दीपुरको चिसोमा सुखद समय बिताउन पुगेका हामीलाई दुःखद समाचारले पोलिरह्यो। बिहान झिसमिसेमा काठमाडौँ हिँड्यौँ, तर काठमाडौँ जल्न सुरु गरिसकेको रहेछ। रामकोटमा गाडी राखेर साँझसम्म घर पुगियो। साना भाइबहिनीहरूमाथि गोली चलेको देखि सुरक्षाकर्मीको अवस्था र सर्वोच्च अदालतलगायत राष्ट्रिय संरचनाहरू जलेको कुरा प्रत्यक्ष देखियो, सुनियो। सो घटनाले जेन-जी उमेरका छोराछोरीमाथि परेको असरको घाउ अझै सेलाएको छैन। २५ गते बिहानै हामी कानून व्यवसायीहरू सर्वोच्च अदालत र बार जलेको देख्न नसकी जाने विचार गर्यौँ। छोरालाई सर्वोच्च अदालत जलेको घटनाले पोलेछ। बाबु-आमाको व्यावसायिक मन्दिर जलेको, निभाउन केही गर्न सक्छु कि भन्ने लागेछ, जानलाई जिद्दी गर्यो। बार र अदालतमा जलेका पुस्तक र फाइललाई आगोबाट बचाउन लागेको घटना मेरो लागि अविस्मरणीय रहेको छ। जेन-जी आन्दोलन र जेन-जी उमेरको छोरासँग हाम्रो देश र हामी किन परिवर्तन हुन नसकेको रहेछौँ, त्यो ४ घण्टाको सडक यात्रामा केही बेर बुझ्न मन लाग्यो।
छलफलको सुरुवातको प्रश्न थियो-त्यत्रो युद्धबाट ग्रसित कोरिया कसरी सम्पन्न भयो? उसको उत्तर थियो, “जब सबै सकिन्छ अनि नयाँ सुरुवात हुन्छ। मान्छे आफू सकिने अवस्था आएपछि आफूभित्रको क्षमता र शक्तिलाई सङ्ग्रहीत गर्छन्। कोरियालीहरूले आफ्नो क्षमता र शक्तिलाई सङ्ग्रहीत गरेर विकासका लागि लागि परे।” मैले प्रश्न गरेँ, “के हामी अझै सकिनुपर्ने हो त?” उसको उत्तर थियो, “हामी सकिनुपर्दैन, हामी सुधारिए मात्र पुग्छ।” मैले सोधेँ, “कसरी सुध्रिने त, हामी के-केमा सुध्रिने?” उसको उत्तर थियो, “सबैभन्दा पहिले हाम्रो व्यवहार र आचरण।” मैले सोधेँ, “हाम्रो व्यवहारमा के त्यस्तो छ र हामी सुध्रिने?” उ हास्यो। मैले सोधेँ, “के-के व्यवहार हो त नी हामी सुध्रिनुपर्ने?” उसको प्रश्न थियो, “हाम्रो यस्तै व्यवहारले हामी कहिल्यै विकास गर्न सक्दैनौँ।” मैले सोधेँ, “तिमी भन न त, के गर्नुपर्यो हामीले?” उसको जवाफ थियो, “पहिले देशमा भ्रष्टाचार रोक्नुपर्छ।” मैले सोधेँ, “तिमीलाई कसरी थाहा भयो भ्रष्टाचार छ भन्ने?” उसले भन्यो, “देश विकास र समृद्ध हुनबाट रोक्ने पहिलो उपाय भ्रष्टाचार रोक्नु हो, मैले त्यही पढेको। जुन देशका जनता विकास चाहन्छन्, त्यो देशमा भ्रष्टाचार हुन दिँदैनन्। त्यही होइन जेन-जी आन्दोलनको एउटा कारण?” उसले प्रश्न गर्यो। मैले मुन्टो हल्लाएँ। फेरि मैले सोधेँ, “भ्रष्टाचार केमा छ त?” उसले भन्यो, “राजनीतिमा, चुनावमा, प्रशासनमा, विकासमा अनि हजुरको अदालतमा।” मैले सोधेँ, “मान्छेले किन भ्रष्टाचार गर्छ?” उसको उत्तर थियो, “जो देशप्रति बफादार छैन, जसको सोच गरिब छ, जो देश लुटेर आफू सम्पन्न हुन चाहन्छ। जसलाई आफूले कमाएकोले पुग्दैन अनि जुन देशले पुग्ने जति दिन सक्दैन, त्यो देशमा भ्रष्टाचार हुन्छ।”
मैले अर्को प्रश्न गरेँ, “ल ठिक छ, भ्रष्टाचार त रोकियो, के अब देश विकास हुन्छ त?” उसको जवाफ थियो, “हुन्न।” मैले सोधेँ, “किन?” उसले भन्यो, “मानिसहरूले आफूलाई देश बनाउन समर्पित गर्नुपर्छ।” मैले सोधेँ, “त्यो कसरी?” उसको जवाफ थियो, “पहिले जनताले हरेक काम देशका लागि गर्नुपर्छ। आफ्नो शक्ति, सामर्थ्य, परिश्रम अनि बल देशका लागि लगाउनुपर्छ। मान्छेको सोच केवल देश समृद्ध कसरी बनाउने भन्नेतिर लाग्नुपर्छ। प्रजातान्त्रिक देशमा जनताको हातमा देश बनाउन सक्नेलाई चुन्ने अधिकार हुन्छ। देश बनाउन सक्ने पार्टीलाई रोज्नुपर्छ, देश बनाउन सक्ने योजनालाई हेर्नुपर्छ अनि सोही अनुसार मतदान गर्नुपर्छ। अर्को, प्रत्येक जनता सक्षम र विश्वसनीय हुनुपर्छ। आफूमाथि देशलाई राख्नुपर्छ। प्रत्येक जनताले कानूनको पालना गर्नुपर्छ। हजुरले देख्नुभएको छैन, कति मानिसहरू ट्राफिक नियम मान्दैनन्, कति मानिसहरू लाइनमा नउभिईकन काम गर्छन्, कति मानिसहरू गर्नुपर्ने जिम्मेवारीको काम समेत गर्दैनन्? हजुरले देख्नुभएन, हजुरबुबा बिरामी हुँदा अस्पतालमा बेड खाली हुँदा समेत बेड नमिलेको? हाम्रै घरमा ग्यास सकिएको १ महिना भइसक्यो, पसले दाइले भित्रभित्रै आफ्नालाई मात्र ग्यास बाँडेको? हजुरको नाम ग्यास लिनेमा १ नम्बरमा छ, कहिले ग्यास आउँछ बुबा घरमा?”
उसले थप्यो, “हजुर कहिलेसम्म मुद्दा सकेर आउँदा पक्षलाई अन्याय भयो, न्यायाधीशले न्याय गर्न सकेनन् भनेको सुन्ने? अझ,” उसले भन्यो, “देख्नुभएन, कोरियाको अदालतमा न्यायाधीशहरूले स्वतन्त्रता र निष्पक्षताप्रति गरेको वाचालाई सार्वजनिक रूपमा पोस्ट गर्ने रहेछन्। हजुरका न्यायाधीशले त्यस्तो गर्छन्? हजुरले कुरा गर्नुहुन्छ कति खराब रहेछन् वकिल पनि। अनि वकिल नै खराब भएपछि न्याय कसरी दिनुहुन्छ? हजुर समाचार हेर्नुहुन्न, कति प्रहरीहरू गलत कार्यमा लागेका?” मैले भनेँ, “सबै पेशामा केही खराब हुन्छन्।” उसले भन्यो, “केही खराब भनेको कति?” मसँग उत्तर थिएन।
अर्थव्यवस्थाका बारेमा उसले भन्यो, “ल भन्नुहोस्, हाम्रो सरकारले राज्य विकासमा कति लगानी गर्न सकेको छ? आर्थिक रणनीति कस्तो छ? देशले हाम्रो शिक्षामा कस्तो लगानी गरेको छ? प्रविधिमाथि हाम्रो पुस्तालाई कतिको पहुँच गराउन सकेको छ? के हजुरसँग पैसा पुगेन भने हजुरबुबा-आमाको उपचार गर्न सक्नुहुन्छ? मलाई र बहिनीलाई पढाउन सक्नुहुन्छ? खोइ त?” उसले थप्यो, “कोरिया सखापै भइसकेको थियो, तर कोरिया र कोरियाली जनताले माथि उकासे र विशाल विकसित बनाए। उनीहरूले देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर अनुसन्धान गरे, सोही अनुसारको नीति-नियम बनाए, परियोजना निर्माण गरे, विदेशी लगानीको सुरक्षित वातावरणको ग्यारेन्टी दिए, आफू देश बनाउन लागि परे, आफ्नो कामको समय जनतालाई सेवा गर्ने सेवक ठाने, नेताहरूले जनताका आवाज सुने अनि आफूलाई त्यतै परिमार्जन गरे। हामीले के गर्यौँ बुबा?”
उसले थप्यो, “खोइ त हाम्रो कानूनमा विश्वास? समाचारमा जहिले पनि अपराधको कुरा मात्र देखिन्छ। हामी बाहिर जाँदा पिर मात्रै गर्नुहुन्छ, हाम्रो चिन्ता गर्नुहुन्छ, किन? हामी आखिर बाहिर जाँदा सुरक्षित रहेनछौँ, होइन? हामीले बाहिर खाँदा पिर मान्नुहुन्छ, किन? कति बच्चाहरू खराब खानाले बिरामी परे होलान्, कसलाई वास्ता छ? कति आमाहरू, दिदीहरूले उपचार पाएनन्? केही परिवर्तन भएको छ? अस्ति हजुर जेलमा गएर आउँदा कति जना त अपराधी हुन् भन्ने विश्वास नलाग्ने रहेछन्, त्यस्तै हो न्याय भनेको? सामाजिक सञ्जालमा कति नराम्रा कुरा हामीभन्दा अग्रजले लेख्छन्, त्यही हो संस्कार? के राम्रो कुरा सामाजिक सञ्जालमा पढ्न पाइन्छ? कसैले राम्रो गर्यो भने त्यसको प्रशंसा कसले गर्छ?” धेरै कुरा प्रतिप्रश्न गर्यो छोराले। सियोलको यात्रा नजिकिँदै थियो, त्यसैले मैले छलफल टुङ्ग्याउन सोधेँ, “के त हामी अगाडि बढ्न सक्दैनौँ अब?” उसले उत्तर दियो, “हामीलाई कसले रोक्छ? हामी अगाडि बढेका छैनौँ र?” मैले सोधेँ, “कोरिया र हामी सँगै नयाँ युगमा गएका, खोइ त आजसम्म के भयो? यस्तै हालत अनि हामी यस्तै?” उसको कुरा थियो, “बुबा, त्यसबेलाभन्दा हाम्रोमा धेरै विकास भएको हो। तर हाम्रो समस्या पनि त ठूलै छ। हामी भूपरिवेष्ठित देश, हाम्रोमा प्रकृति अनि धेरै स्रोत छ। त्यति हुँदाहुँदै यति विकास भएको हो। विकास त धेरै हुन्थ्यो, तर कारण हामी नै हो। झन् अहिले त जलवायु परिवर्तनले कति गाह्रो भयो। हजुर सगरमाथा नजिक पुगेर आएपछि हिमाल नाङ्गो भएछ भनेको होइन? खोइ त हजुरहरूले त्यो आवाज उठाएको? जलवायु परिवर्तनको मारमा हामी किन चुपचाप? किन यसको आवाज नउठाएको?”
सियोल पुगेपछि बाबु-छोरा नै कार्यक्रममा व्यस्त भइयो। म सम्मेलनतिर लागेँ, छोरा सम्मेलन र ‘ल एसिया’ अन्तर्राष्ट्रिय मुट कोर्ट प्रतियोगितामा आयोजकका लागि स्वयंसेवक कार्यमा। फर्किने क्रममा सोधेँ, “सियोल कस्तो लाग्यो?” उसको जवाफ थियो, “धेरै-धेरै राम्रो।” मैले सोधेँ, “राम्रो कसरी, तिमीसँग घुम्ने समय नै थिएन?” उसले जवाफ दियो, “अति सफा, अनुशासित, शान्त, सुन्दर अनि सभ्य (Civilized)। कति धेरै सङ्ग्रहालय, कत्रो पुस्तकालय! हाम्रो जस्तै धोबीखोलाको किनारभरि खुला पुस्तकालय, कति भद्र मानिस अनि कति सुरक्षित र राष्ट्रप्रेमी मानिसहरू! कानूनको कस्तो राम्रो पालना अनि कति खुलेर बोल्ने सहयोगी भावना! अनि विद्यार्थीहरूका लागि कस्तो राम्रो कलेज, विश्वविद्यालय (उ तीन दिनसम्म विश्वविद्यालयमा आयोजित मुट कोर्ट प्रतियोगितामा थियो), पार्क, लाइब्रेरी अनि अवसर! कति धेरै प्रविधि अनि कस्तो विशाल सोच अनि आत्मनिर्भर र देशका लागि गर्नुपर्छ भन्ने भावना अनि एक-अर्कामा विश्वास!” फेरि सोधेँ, “कार्यक्रम कस्तो रह्यो?” उसले भन्यो, “गज्जबको।” “के फरक देख्यौ त?” उसको जवाफ थियो, “सम्मेलनमा आउने मानिसहरू कति व्यावसायिक र गम्भीर (Serious) रहेछन्। कति भलादमी र सिक्न खोज्ने! धेरै जनासँग गफ गरेँ, सबैले नेपालका बारेमा सुनेका रहेछन्। धेरैले बाढी-पहिरोको बारेमा सोधे। कार्यक्रमहरूमा पनि कति चासो दिएर सुन्ने, छलफलमा सहभागी हुने, आफ्नो विचार राख्ने अनि एक-अर्कासँग विचार साटफेर गर्ने! म नेपालबाट आएको भन्ने सुनेपछि कति धेरै कुरा गर्न आए! राम्रो अवस्थाको बारेमा छलफल गरे। कार्यक्रमहरूमा नेपालको अहिलेको अवस्थालाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गरे। धेरै जना नेपाललाई सहयोग गर्न चाहने रहेछन्। अब सरकारले कसरी नेपाललाई सहयोग माग्न सकिन्छ, त्यो बारेमा संसारभर रहेका नेपालीलाई परिचालन गर्यो भने सहयोग आउँछ भन्ने उसको विचार रहेछ।”
अन्तिममा मैले हिजो छोरालाई सोधेँ, “बाबु, तिमीले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको मन्तव्य सुन्यौ त?” उसले भन्यो, “सुनेँ।” “कस्तो लाग्यो?” मेरो प्रश्नको उत्तरमा उसको जवाफ थियो, “धेरै राम्रो।” “कसरी?” मेरो प्रश्न थियो। उसले भन्यो, “प्रधानमन्त्रीले नेपालको अवस्थाको बारेमा निडर भएर बोले, सहयोग मागे अनि यो हाम्रो मात्र समस्या होइन, संसारको हो र हामीलाई बेवास्ता गरेर हाम्रो मात्र समस्या हो भन्ने ठाने अरू राष्ट्रलाई पनि भविष्यमा यसको असर पर्छ भन्ने कुरा राम्रो लाग्यो।” मैले सोधेँ, “के थप भन्नुपर्यो त प्रधानमन्त्रीले?” उसले थप्यो, “जलवायु परिवर्तन र न्यायका लागि संसारभरिका देशलाई नेपालमा बोलाएर जलवायु सम्मेलन गर्ने अनि जलवायु परिवर्तनको असर कसरी परेको छ भन्ने कुरा यहीँ बोलाएर देखाउन सम्मेलनमा आउन आमन्त्रण गर्ने। त्यसो गर्दा संसार नेपाल आउँछ अनि देख्छ, किनकि अवलोकनले पनि जलवायु परिवर्तनको असरबारे धेरै ज्ञान हुन्छ अनि न्यायको लागि पनि आवाज उठाउन सकिन्छ।” म असहमत हुने कुरा थिएन। मैले यो नोट गर्दै गर्दा उसलाई भनेँ कि, “बाबु, जलवायु परिवर्तन र न्याय सरकारको मात्र विषय होइन, यो आम नागरिकको विषय हो। हामीले अध्ययन गरेर हुन्छ कि, बोलेर, लेखेर अनि बहस गरेर हुन्छ कि जलवायु परिवर्तनको बारेमा आवाज उठाउनुपर्छ। अर्को वर्ष ‘ल एसिया’ले नेपालमा नेपाल बार एसोसिएसनको आतिथ्यतामा वार्षिक सम्मेलन गर्दै छ। यसमा संसारभरिका ५०० कानून व्यवसायी आउने योजना छ। यो सम्मेलनमा हामी जलवायु परिवर्तन र न्यायका लागि पनि बृहत् छलफल गर्नेछौँ अनि यो मुद्दालाई अझ बृहत् रूपमा लानेछौँ।”

