काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनस्थित मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा बिहान करिब साढे ८ बजे सल्केको आगोलाई सुरक्षाकर्मी र स्थानीयको तत्परतामा केही समयमै नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट फाँटमा रहेका तीन वटा कम्प्युटर जलेर नष्ट भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार कम्प्युटरमा क्षति पुगे पनि मुद्दा सम्बन्धी कुनै पनि महत्त्वपूर्ण कागजात वा मिसिलमा भने क्षति पुगेको छैन। प्रारम्भिक अध्ययन अनुसार बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

सर्वोच्च अदालत परिसरमा आगलागी दोहोरिएको यो पहिलो पटक भने होइन। यसअघि गत भदौ १७ गते राति पनि अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा पुरानो भवनमा आगजनी भएपछि अदालतको सम्पूर्ण कामकारबाही नयाँ भवनमा सारिएको थियो। तर, नयाँ भवनबाट सेवा सञ्चालन भइरहेकै अवस्थामा पनि निरन्तर आगलागीका घटना दोहोरिन थालेका छन्।

- सबै तस्बिरः हरि भट्टराईको फेसबुक पेजबाट साभार गरिएको हो । सम्पादक

