काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपतिमा सोही विश्वविद्यालयका पूर्वविद्यार्थी तथा मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रा.डा. बराललाई उक्त पदमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरेका छन्। गत जेठ १९ गते सम्पन्न काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गाना र केयू संरक्षण समितिका अध्यक्ष एवं संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य रहेका थिए। सोही समितिले प्रा.डा. बरालसहित तीन जनाको नाम नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।
प्रा.डा. बराल काठमाडौँ विश्वविद्यालयकै उत्पादन भएर सोही संस्थाको सर्वोच्च कार्यकारी पद (उपकुलपति) मा पुग्ने पहिलो व्यक्ति बनेका छन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फका दोस्रो ब्याचका विद्यार्थी हुन्। काठमाडौँ विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक तह पूरा गरेका उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) हासिल गरेका छन्।
उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक पदसम्मको लामो प्राज्ञिक यात्रा तय गरेका नवनियुक्त उपकुलपति बरालको मुख्य विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्स जस्ता महत्त्वपूर्ण क्षेत्रमा रहेको छ।

