काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई उनीबाट बरामद गरिएका सम्पूर्ण सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
पत्रकार श्रेष्ठकी श्रीमती सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त आदेश जारी गरेको हो। शुक्रबार भएको सुनुवाइमा श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ताद्वय टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाउँदै प्रहरीले उनलाई गत साउन २३ गते बुधबार राति पक्राउ गरेको थियो।
पक्राउ पर्ने क्रममा प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायतका विद्युतीय उपकरण जफत गरेको थियो। अदालतले ती सबै सामग्रीसहित साउन २९ गते उपस्थित गराउन भनेको छ। अनुसन्धानका लागि भन्दै बिहीबार तीन दिनको म्याद थपिएका श्रेष्ठलाई सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको भए पनि हाल प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसमेत रहेका श्रेष्ठको गिरफ्तारीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। उनको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिललगायत विभिन्न राजनीतिक दलहरूले कडा विरोध गर्दै अविलम्ब र विनासर्त रिहाइको माग गरिरहेका छन्।


