सुकुम्बासी बस्तीमा जबरजस्ती उठिबास रोक्न माग गर्दै सर्वोच्चमा रिट, आजै सुनुवाइको तयारी

काठमाडौं ।काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल लगायत देशभरका नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा भइरहेको जबरजस्ती उठिबास रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। थापाथली बस्तीका बासिन्दा गोपाल रन पहेलीसहित युवा अभियन्ताहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई र विकासकुमार गुप्ताले संयुक्त रूपमा उक्त रिट दर्ता गराएका हुन्।

निवेदकहरूले सुकुम्बासी परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक बसोबासको व्यवस्था नगरी उनीहरूलाई विस्थापित नगर्न र कुनै पनि प्रकारको बल प्रयोग नगर्न अन्तरिम आदेशको माग गरेका छन्।

वैशाख १० गतेदेखि माइकिङमार्फत बस्ती खाली गराउने सूचना जारी भइरहेको भन्दै उनीहरूले यो विषयमा आजै सुनुवाइ गरी तत्काल कारबाही रोक्न अदालतको ध्यानाकर्षण गराएका छन्। रिटमा यसअघि उच्च अदालत पाटनले २०८० साउन १७ गते सुकुम्बासीहरूको व्यवस्थापन र पुनर्वासका लागि दिएको आदेशको समेत पालना नभएको जिकिर गरिएको छ।

वैकल्पिक व्यवस्था बिना नै डोजर चलाउने र उठिबास लगाउने कार्यले अदालतको अवहेलना भएको दाबी गर्दै निवेदकहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विरुद्ध कारबाहीको माग समेत गरेका छन्। सुरक्षा निकायको प्रयोग गरी सुकुम्बासी बस्तीमा बल प्रयोग नगर्न र नागरिकको बसोबासको हक सुरक्षित गर्न माग गरिएको यस रिटले सुकुम्बासी समस्याको कानुनी समाधान खोज्न सर्वोच्चलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज