३ करोड ७४ लाख बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आवश्यक धरौटी रकम बुझाएपछि रिहा भएका छन्। उनले शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत तथा धरौटी बुझाएका हुन्।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले उच्च अदालतको आदेशअनुसार बैंक ग्यारेन्टी र नगद धरौटी बुझाएपछि रिहा गरिएको हो। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले शर्तसहित उनलाई छाड्न आदेश दिएका थिए।

लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो रकम बुझाउने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार उक्त रकमको बैंक ग्यारेन्टी अदालतले स्वीकार गरेको हो। यससँगै जिल्ला अदालतबाट पहिल्यै तोकिएको १ करोड रुपैयाँ धरौटी पनि बुझाइएको अदालतले जनाएको छ।

यसअघि माघ १३ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई पुर्पक्षका लागि १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको पछिल्लो निर्णयपछि दुवै धरौटी रकम बुझाइएपछि उनी औपचारिक रूपमा रिहा भएका हुन्।
यसरी फरक–फरक आदेशअनुसार बुझाइएका धरौटी जोड्दा कुल रकम ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ पुगेको अदालत स्रोतले स्पष्ट पारेको छ।

लामिछाने रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज