काठमाडौं । करिब डेढ महिनादेखि रोकिएको विशेष अदालतको नियमित सुनुवाइ कात्तिक ११ गतेदेखि पुनः सुरु हुने भएको छ। अदालतको शुक्रबार बसेको फुलकोर्ट (पूर्ण बैठक) ले छठ पर्व सकिएलगत्तै नियमित कार्य सञ्चालनमा फर्किने निर्णय गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।
भदौ २४ गते विशेष अदालतमा भएको आक्रमण र तोडफोडका कारण सुनुवाइ स्थगित गरिएको थियो। भवन पूर्ण रूपमा नजले पनि कार्यालयका विभिन्न कक्षमा तोडफोड, लुटपाट र आगजनी भएकाले कार्य सञ्चालन प्रभावित भएको थियो। त्यस्तै सर्वोच्च र विशेष अदालत दुबैको सर्भर प्रणालीमा समेत क्षति पुगेपछि नियमित पेसी निर्धारण हुन नसकेको हो।
प्रारम्भिक अनुमानअनुसार आक्रमणबाट विशेष अदालतलाई करिब १ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। पाँच वटा सरकारी सवारी साधन र चार वटा मोटरसाइकलमा समेत आगजनी र तोडफोड गरिएको थियो।
हाल अदालतले अभियोगपत्र दर्ता गर्ने, म्याद थप गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जरुरी पक्राउ पुर्जी जारी गर्नेजस्ता सीमित कामहरू गर्दै आएको छ। अख्तियारले दायर गरेका मुद्दामा थुनछेक र आरोप पेशीसम्बन्धी प्रक्रिया भने चलिरहेको प्रवक्ता रेग्मीले बताए।
विशेष अदालतमा अहिले पतञ्जलीको जग्गा विवाद, टेराम्याक्स प्रकरण, र हालैको पोखराको लिचीबारी जग्गा मुद्दाजस्ता ठूला भ्रष्टाचार प्रकरण विचाराधीन छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने सबै मुद्दाको सुनुवाइ यही अदालतमा हुने गर्छ।
अदालतमा हाल छ न्यायाधीश कार्यरत छन्, जसले दुई छुट्टाछुट्टै इजलासबाट मुद्दा सुनुवाइ गर्ने तयारी गरेका छन्। कात्तिक ११ गतेदेखि पुनः सुरु हुने नियमित सुनुवाइसँगै लामो समयदेखि रोकिएका महत्वपूर्ण मुद्दाहरू अघि बढ्ने अपेक्षा गरिएको छ।