पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई उपस्थित गराउन मानव अधिकार आयोगको पत्र

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियन्त्रणमा लिइएको विषयमा अनुगमन गर्न पुगेको टोलीलाई कार्यालय प्रवेशमा रोक लगाइएपछि आयोगले सोमबार यस्तो पत्र पठाएको हो।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले एसएसपी खड्कालाई मङ्गलबार आयोगको कार्यालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिइएको जानकारी दिए।

सुरक्षा जोखिम रहेको जनाउँदै अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई बाँसबारीस्थित निवासबाट आइतबार बिहान करिब ३ बजे नियन्त्रणमा लिएको थियो। जबरालाई नियन्त्रणमा लिइएको खबर पाएपछि अवस्था बुझ्न र अनुगमन गर्न आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो।

सो क्रममा आयोगका अधिकारीहरूले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत फोन तथा सन्देशमार्फत सम्पर्क गर्ने प्रयास गरेका थिए। तर, टोलीलाई प्रवेश नदिई करिब ३५ मिनेटसम्म बाहिरै कुराइएपछि आयोगको टोली नहेरी फर्कन बाध्य भएको थियो। संवैधानिक निकायको अनुगमन टोलीलाई प्रवेशमा अवरोध सिर्जना गरिएको विषयलाई गम्भीरतापूर्वक लिँदै आयोगले सम्बन्धित प्रहरी प्रमुखलाई नै सोधपुछका लागि बोलाएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज