फेरी पक्राउ परे प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा फेरि प्रहरी नियन्त्रणमा परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद रचना खतिवडाविरुद्ध अनलाइन तथा सार्वजनिक मञ्चमार्फत आपत्तिजनक र भ्रामक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीको साइबर ब्युरोले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो।

घटनाको पृष्ठभूमि अनुसार, जेनजी शहीद रसिक खतिवडाकी आमा समेत रहेकी रास्वपा सांसद रचना खतिवडामाथि प्रसाईँले ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्दै गम्भीर आक्षेप र चरित्रहत्या गर्ने खालको अभिव्यक्ति दिएका थिए।

उक्त आपत्तिजनक वक्तव्यप्रति सांसद खतिवडाले संसद् बैठकमै भक्कानिँदै तीव्र आपत्ति र आक्रोश व्यक्त गरेकी थिइन्। व्यक्तिगत मर्यादा र सामाजिक प्रतिष्ठामा आघात पुगेको भन्दै सांसद खतिवडाको परिवारका तर्फबाट प्रहरीको साइबर ब्युरोमा औपचारिक कानुनी उजुरी दर्ता गराइएको थियो।

उजुरी दर्ता भएसँगै अनुसन्धान अघि बढाएको साइबर ब्युरोले अदालतबाट औपचारिक पक्राउ पुर्जी लिएर मात्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रसाईँका छोरा निराजन प्रसाईँले पनि साइबर ब्युरोको टोली पक्राउ पुर्जीसहित भक्तपुरस्थित निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

नेपालको कानुनी व्यवस्था अनुसार कुनै पनि नागरिक वा जनप्रतिनिधिको चरित्रहत्या गर्ने, अनर्गल प्रचारप्रसार गर्ने वा सामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिने कार्य विद्युतीय कारोबार ऐन (Electronic Transactions Act) अन्तर्गत दण्डनीय मानिन्छ। यसअघि पनि विभिन्न विवादस्पद अभिव्यक्ति र अनलाइन गतिविधिका कारण कानुनी दायरामा आउने गरेका प्रसाईँमाथि यसपटक भने सांसद र उनको परिवारले दिएको उजुरीका आधारमा ब्युरोले थप अनुसन्धान तथा म्याद थपको कानुनी प्रक्रिया अघि बढाउने भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज