काठमाडौँ । जीवनको करिब चार दशक न्यायसेवामा बिताएका पूर्व न्यायाधीश भीमकुमार ओझा अवकाशपछि गीतकारका रूपमा नेपाली संगीत क्षेत्रमा उदाउनुभएको छ। लामो समय जिल्ला तथा उच्च अदालतको न्यायाधीशका रूपमा न्यायसम्पादनमा सक्रिय ओझा यतिबेला बाल्यकालदेखिको सांगीतिक चाहना पूरा गर्दै हुनुहुन्छ।
न्यायालयमा रहँदा कानूनका अक्षर र न्यायका संवेदनशील पक्षसँग साक्षात्कार गर्नुभएका ओझाको अवकाशपछिको जीवन शब्द, भावना र सिर्जनाले भरिएको छ। बाल्यकालदेखि नै गीतसंगीतप्रति रुचि भए पनि व्यावसायिक व्यस्तताले मनभित्रै सीमित रहेको उहाँको चाहना अहिले प्रस्फुटित भएको हो। गीतकारका रूपमा सक्रिय भएको छोटो अवधिमै उहाँले आधुनिक, लोकलय, पूर्वेली र पश्चिमेली भाकाका विभिन्न प्रकृतिका गीत रचना गरिसक्नुभएको छ। उहाँद्वारा रचित ३० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् भने ती सिर्जनाहरू उहाँकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ पुगेका छन्।
ओझाको सिर्जनायात्रा नेपाली कथानक चलचित्र ‘लज्जावती’ सम्म पुगेको छ। उहाँद्वारा रचित ‘मलाई पीर परेको तिमीलाई के थाहा छ’ बोलको गीत चलचित्रमा समावेश छ। चलचित्र हेरेर फर्किएका दर्शकहरूको प्रतिक्रियाअनुसार उक्त गीत केवल चलचित्रको एउटा सांगीतिक प्रस्तुतिमा मात्र सीमित नरही कथाको भावनात्मक संरचनासँग गहिरोसँग जोडिएको छ। कतिपय दर्शकले चलचित्रको कथा नै उक्त मूल गीतको वरिपरि घुमेको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। गीतमा शब्द मात्र नभएर मानवीय अनुभूति, पीडा, प्रेम र जीवनका अनेक रङ समेटिएकाले यसले दर्शकको मनलाई स्पर्श गर्न सफल भएको छ।
न्यायसेवाको लामो जिम्मेवारी पूरा गरेर जीवनको उत्तरार्धमा गीतसंगीत रोज्नु उहाँका लागि केवल मनोरञ्जन नभएर वर्षौँदेखिको सिर्जनात्मक सपना साकार पार्ने अभियान हो। न्यायाधीशको रूपमा कानूनका कठोर धाराहरूबीच समाजका अनेक कथा पढेका ओझाले अहिले गीतका कोमल शब्दहरूमार्फत तिनै मानवीय संवेदना र भावना अभिव्यक्त गरिरहनुभएको छ।
छोटो समयमै ३० भन्दा बढी गीत रेकर्ड हुनु र नेपाली कथानक चलचित्रसम्म गीतकारका रूपमा पुग्नुले सिर्जनाको कुनै अवकाश हुँदैन भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ। जीवनभर न्यायको पक्षमा उभिएको कलम अहिले भावनाको पक्षमा गीत लेखिरहेको छ। अदालतको इजलासबाट गीतको संसारसम्म आइपुगेको उहाँको यो रूपान्तरण र सांगीतिक यात्रा प्रेरणादायी बनेको छ भने आगामी दिनमा उहाँका कलमबाट अझ धेरै उत्कृष्ट सिर्जना जन्मिने अपेक्षा गरिएको छ।

