काठमाडौँ । सर्वोच्च अदालतको मेलमिलाप समितिले अदालतमा मेलमिलापकर्ताको रूपमा आफ्नो नाम अद्यावधिक गराउन र नयाँ सूचीकृत हुन इच्छुक व्यक्तिहरूका लागि औपचारिक सूचना जारी गरेको छ।
सर्वोच्च अदालत, रामशाहपथस्थित मेलमिलाप समितिको सचिवालयबाट प्रकाशित सूचनाअनुसार यसअघि सूचीकृत भएका मेलमिलापकर्ताहरूले आफ्नो नाम अद्यावधिक गराउनुपर्नेछ भने पहिलोपटक सूचीकृत हुन चाहने व्यक्तिहरूले पनि आवेदन दिन सक्नेछन्।
इच्छुक तथा सुचीकृत हुन वा नाम अद्यावधिक गराउन चाहनेले मेलमिलापसम्बन्धी आधारभूत तालीम लिएको प्रमाणपत्र र मेलमिलाप परिषद्बाट प्राप्त म्याद कायम रहेको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी यो सूचना प्रकाशित भएको मिति २०८३ साल साउन ११ गतेबाट ३० दिनभित्र सर्वोच्च अदालतको मेलमिलाप समिति सचिवालय वा मेलमिलाप केन्द्रमा निवेदन दिनुपर्नेछ।
तोकिएको फाराम र आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ भने यससम्बन्धी थप विवरण तथा आ.व. २०८२।८३ मा सुचीकृत भएका मेलमिलापकर्ताहरूको विवरण सर्वोच्च अदालतको आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराइएको शाखा अधिकृत देवीबहादुर प्रधानद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।


