संसदीय सुनुवाइ समितिद्वारा साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत

काठमाडौँ । साउदी अरबका लागि नेपाली राजदूतमा सिफारिस गरिएका गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ। सरकारले राजदूतमा सिफारिस गरेपछि संसदीय सुनुवाइ प्रक्रियाका क्रममा उनीमाथि विभिन्न गम्भीर उजुरी र प्रश्नहरू उठेका थिए। कूटनीतिक पदका लागि आवश्यक उच्च नैतिक आचरण र तटस्थतामाथि प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

संसदीय समितिमा छलफलका क्रममा सुनारमाथि नैतिक आचरण, वित्तीय अनियमितता तथा वैदेशिक अभिलेखसँग सम्बन्धित विभिन्न आरोपहरू पेश गरिएका थिए। जर्मन सरकारले नियन्त्रणमा लिई हत्कडी लगाएर नेपाल डिपोर्ट गरेको विषय, विवाहेत्तर सम्बन्ध र जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भइसकेपछि पनि पूर्वप्रेमीलाई यातना, धम्की तथा आत्महत्या गर्न दबाब दिएको लगायतका विषयमा उनीमाथि गम्भीर प्रश्न उठाइएको थियो।

यसैगरी, नेपाल प्रहरीका एक डिआइजीको बढुवाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको र विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरिएको रकमको व्यवस्थापन गर्ने गरेको वित्तीय आरोपसमेत उनीमाथि लागेको थियो। यसका साथै, ‘हाम्रो नेपाल पार्टी’ सँगको आबद्धता र राजदूतमा सिफारिस गराउनका लागि स्वामी आनन्द अरुणलाई समेत साथमा लिएर परराष्ट्र मन्त्रालय पुगेको भन्दै अनुचित दबाब सिर्जना गरेको प्रश्न पनि उठेको थियो।

संसदीय सुनुवाइ समितिमा प्राप्त उजुरीहरू र उनीबारे संसद्‌मा उठेका सवालहरूप्रति गहन छलफलपछि कूटनीतिक नियोगको मर्यादा तथा राष्ट्रिय छवि जोगाउन सुनारलाई राजदूत पदका लागि अयोग्य ठहराउँदै उनको नाम पूर्ण रूपमा अस्वीकृत गरिएको समितिले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज