नेपाल कानून व्यवसायी परिषद्ले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ संशोधन गर्दै सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी, न्यायाधीश, सुरक्षाकर्मी र शिक्षकलाई समेत दुई वर्षपछि मात्र वकालतमा प्रवेश गर्न दिने व्यवस्था लागू गरेपछि न्यायिक वृत्तमा गम्भीर बहस सुरु भएको छ। अवकाश पाएको भोलिपल्टै कालो कोट भिरेर हिजो आफूले काम गरेकै निकायविरुद्ध वा भित्री सूचनाका आधारमा बहस गर्न उत्रिने ‘रिभल्भिङ डोर’ प्रवृत्ति रोक्ने परिषद्को मनसाय सकारात्मक छ। यसले अदालत र राज्य संयन्त्रको निष्पक्षता जोगाउन तथा युवा र स्वतन्त्र कानुन व्यवसायीका लागि स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन मद्दत पुर्याउँछ।
तर, उद्देश्य जतिसुकै पवित्र भए पनि कानूनी प्रक्रिया र दायराका हिसाबले परिषद्को यो निर्णय संवैधानिक परीक्षणको घेरामा पर्ने देखिन्छ। नेपालको संविधानको धारा १७(२)(च) ले प्रत्येक नागरिकलाई पेशा र रोजगारको स्वतन्त्रता दिएको छ, जसमा मनासिव बन्देज सार्वभौम संसद्ले बनाएको मूल ऐनद्वारा मात्र लगाउन सकिन्छ। नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० ले नतोकेको अयोग्यताको सर्त आन्तरिक कार्यविधिका लागि बनेको नियमावली संशोधन गरेर मात्र थोपर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गम्भीर छ। सहायक कानुनमार्फत मौलिक हकमा अंकुश लगाउने अभ्यासले प्रत्यायोजित विधायनको सीमा नाघेको ठहरिने जोखिम उत्तिकै छ।
अर्को कमजोरी असमान वर्गीकरणमा देखिन्छ। नीति निर्माण, अनुसन्धान र न्याय सम्पादन गर्ने न्यायाधीश, उच्च प्रशासक वा सुरक्षा अधिकारी र सामुदायिक विद्यालयका शिक्षक वा तल्लो तहका सामान्य कर्मचारीलाई एउटै डालोमा हालेर दुई वर्षे प्रतिबन्ध लगाउनु तार्किक हुँदैन। एक प्राथमिक विद्यालयको शिक्षकले अवकाशपछि वकालत गर्दा राज्यको कुन गोपनीयता भंग हुन्छ वा कुन स्वार्थको द्वन्द्व उत्पन्न हुन्छ भन्ने प्रश्नको जवाफ नियमावलीले दिँदैन। उल्टो, औपचारिक वकालतमा रोक लगाइए पनि अवकाशप्राप्त उच्च अधिकारीले पर्दा पछाडि बसेर परामर्शदाताका रूपमा पुरानो पहुँच प्रयोग गरिरहने छिद्र भने जीवितै रहन सक्छ।
अन्तर्राष्ट्रिय अभ्यासमा पनि सबै पदलाई एउटै तराजुमा जोख्ने चलन देखिँदैन। भारतको संविधानको धारा १२४(७) ले सर्वोच्च अदालतका पूर्वन्यायाधीशलाई अवकाशपछि वकालत गर्न रोक लगाउँछ भने धारा २२० ले उच्च अदालतका पूर्वन्यायाधीशलाई सर्वोच्च अदालत र अन्य उच्च अदालतबाहेकका ठाउँमा वकालत गर्न बन्देज लगाउँछ। अन्य लोकतान्त्रिक मुलुकमा पनि पद, भूमिका र स्वार्थको द्वन्द्वको सम्भावनाअनुसार फरक–फरक कानूनी वा परम्परागत व्यवस्था लागू हुने गरेको पाइन्छ।
स्वार्थको द्वन्द्व र गोपनीयता भंग हुने जोखिम रोक्ने परिषद्को पहल स्वागतयोग्य छ, तर कानूनी जग कमजोर बनाएर र सामान्य कर्मचारी तथा शिक्षकसमेतलाई एउटै मापदण्डमा बाँधेर यो निर्णय दिगो बन्न सक्दैन। तसर्थ, मूल ऐनमै स्पष्ट कानुनी आधार तय गर्दै उच्च पदस्थ र संवेदनशील निकायका अधिकारीलाई लक्षित गर्ने र स्वार्थको द्वन्द्व नहुने वर्गलाई व्यावहारिक छुट दिने गरी नियम परिमार्जन गर्नु नै बुद्धिमानी हुनेछ।

