काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्ति गैरकानूनी र विधि तथा प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेन–जी नागरिक अभियानका सुनील सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्तिको कानूनी वैधता परीक्षण र विधिको शासन सुनिश्चित गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद विचाराधीन रहेकै अवस्थामा डोल्मालाई उपाध्यक्ष पदमा नियुक्त गरिएको भन्दै निवेदकहरूले प्रश्न उठाएका छन् । विचाराधीन विवादबीच गरिएको नियुक्तिले कानूनी प्रक्रिया र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको दाबी रिटमा गरिएको छ । निवेदकहरूले नियुक्तिको कानूनी वैधता परीक्षण गर्न र विधिको शासन कायम गर्न आवश्यक आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

