काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा शोधपत्र तथा सेमिनार पेपर मूल्याङ्कन गर्दा विदेशी एआई डिटेक्सन सफ्टवेयरको अनुमानित नतिजाका आधारमा अस्वीकार गर्ने कार्य रोक्न माग गर्दै पेस गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
यसअघि रिट दरपिठ गर्ने रजिस्ट्रारको निर्णयविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले दरपिठ आदेश बदर गरी कानुनी रीत पुर्याई रिट दर्ता गर्न निर्देशन दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले निजी कम्पनीका सफ्टवेयर ‘टर्निटिन’ र ‘आइथेन्टिकेट’ ले देखाउने सम्भावित एआई प्रयोगको अनुमानित प्रतिवेदनका आधारमा विद्यार्थीका शोधपत्र र सेमिनार पेपर अस्वीकार गर्दै आएको भन्दै रिट निवेदन पेस गरिएको थियो ।
सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले गत मङ्सिर २ गते निवेदनको विषय प्रविधि प्रयोग तथा प्राज्ञिक शुद्धतासँग जोडिएको र निवेदकको कुन मौलिक वा कानुनी हक हनन भएको हो भन्ने स्पष्ट नदेखिएको भन्दै रिट दर्ता नगर्ने आदेश दिएका थिए । अर्कोतर्फ, रिट निवेदनमा ‘एन्टि–प्लेजारिजम सफ्टवेयर व्यवस्थापन तथा सञ्चालन सम्बन्धी नियम, २०८०’ मा प्लेजारिजम सम्बन्धी स्पष्ट कानुनी परिभाषा नभएको उल्लेख गर्दै त्यसको स्पष्ट व्याख्या गर्न माग गरिएको छ ।
नेपालमा एआईको प्रयोग तथा नियमनसम्बन्धी स्पष्ट कानुन र आधिकारिक सरकारी मापदण्ड बनिनसकेको अवस्थामा निजी सफ्टवेयरको भर पर्दा विद्यार्थीको बौद्धिक श्रम र प्राज्ञिक हक प्रभावित भएको जिकिर रिटमा गरिएको छ ।
निवेदनअनुसार आफ्नै मौलिक लेखनमा तयार पारिएका सेमिनार पेपर र शोधपत्रलाई समेत सफ्टवेयरले ‘लाइक्ली एआई–जेनेरेटेड’ (सम्भवतः एआईबाट लेखिएको) भनी देखाउँदा विद्यार्थीलाई स्पष्टीकरण वा सफाइ दिने सामान्य मौकासमेत नदिई बारम्बार पुनर्लेखन गर्न बाध्य पारिएको छ । यसले विद्यार्थीमा अनावश्यक दबाब र मानसिक तनाव सिर्जना गरेको निवेदनमा उल्लेख छ ।
रिट दर्ता गर्ने सर्वोच्चको आदेशसँगै अब विश्वविद्यालयको शोध मूल्याङ्कन प्रक्रिया, एआई डिटेक्सन सफ्टवेयरको विश्वसनीयता र सम्बन्धित नियमावलीको व्याख्यामाथि अदालतमा औपचारिक कानुनी बहसको बाटो खुलेको छ ।

