काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल हुन लागेको हो।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। सोही इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षको बहस सुनेपछि मात्र निर्णयमा पुग्ने गरी आजका लागि छलफलको मिति तोकेको थियो।
अदालतले आजको सुनुवाइमा कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयको प्रमाणित प्रतिलिपि तथा सम्बन्धित अन्य कागजातहरूसमेत पेस गर्न र सरकारलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो। मुद्दाको गाम्भीर्य र संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वोच्चले यस रिटलाई अग्राधिकारसमेत प्रदान गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोजकुमार केसीलाई नयाँ आइजिपी बनाउने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको जिकिर गर्दै कार्कीले निर्णय बदर गरी आफूलाई पूर्ववत् पदमै कायम राख्न तथा केसीलाई आइजिपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। आजको इजलासले अन्तरिम आदेश जारी गरेमा कार्की पुनः प्रहरी नेतृत्वमा फर्कने बाटो खुल्नेछ भने आदेश जारी नभएमा मुद्दाको अन्तिम किनारा नलागुन्जेल डा. केसीले नै संगठनको नेतृत्वलाई निरन्तरता दिनेछन्।

