काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रदेश प्रमुख कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराउनुभएको हो। नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।
यसअघि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो। तोकिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा कुनै पनि दाबी पेस हुन सकेको थिएन।
संविधानको प्रावधान अनुसार तोकिएको समयमा बहुमतको दाबी प्रस्तुत नभएपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको संवैधानिक प्रावधान रहेको छ।
नवनियुक्त मुख्यमन्त्री यादवले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र प्रदेशसभाबाट विश्वासको मत लिने संवैधानिक प्रक्रिया अगाडि बढाउने तयारी गर्नुभएको छ।

