काठमाडौँ । विशेष अदालतबाट सफाइ पाएका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध सर्वोच्च अदालतमा दायर हुनुपर्ने पुनरावेदनको फाइल विगत दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै थन्किएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको थियो। त्यसपछि महान्यायाधिवक्ताको कार्यालयका केही अधिकारीहरूले पुनरावेदन नगरिने राय प्रस्तुत गरे पनि तत्कालीन महान्यायाधिवक्ताले लिखित रूपमै फाइल अगाडि बढाउन आदेश दिएका थिए।
तर तल्लो तहका अधिकारीहरूको असहयोग र कार्यालयको आन्तरिक अन्योलका कारण उक्त आदेश कार्यान्वयन भएन र कानुनी म्याद समेत गुज्रन पुग्यो। पछि कार्यालयले कार्यव्यस्तता देखाउँदै विशेष अदालत ऐन, २०५९ बमोजिम गुज्रेको म्याद थामी पाउँ भन्दै निवेदन तयार पारेको कानुनी कागजातमा उल्लेख छ।
सामान्य क्रुपियरबाट क्यासिनो साम्राज्य खडा गरेका सिंह र उनका परिवारका सदस्यविरुद्ध २७ करोड रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले मुद्दा चलाएको थियो। अदालतबाट सफाइ पाएपछि राज्यको तर्फबाट सर्वोच्चमा जानुपर्ने पुनरावेदन प्रक्रिया रोकिनुले अभियोजन प्रणालीको पारदर्शिताबारे प्रश्न उठाएको छ।
महान्यायाधिवक्ताको कार्यालयभित्रै महत्त्वपूर्ण कानुनी मिसिलहरू यसरी लामो समयसम्म रोकिनुले न्याय सम्पादन प्रक्रियामा गम्भीर असर पार्ने देखिएको छ र यस विषयमा थप छानबिनको आवश्यकता औंल्याइएको छ।

