काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेका कारण दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार तय भएको सुनुवाइ स्थगित भएको छ ।
अन्य विपक्षीहरूले म्याद बुझिसकेको भए तापनि आईजीपी केसीका तर्फबाट म्याद तामेल हुन बाँकी रहेकाले आजको सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो ।
मुद्दाको सुनुवाइका लागि तोकिएको न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आईजीपी केसीले म्याद बुझ्न बाँकी रहेको तथ्य औँल्याउँदै महान्यायाधिवक्तालाई इजलासमै बोलाएको थियो । इजलासले महान्यायाधिवक्तालाई आईजीपी केसीबाट म्याद बुझ्ने कार्यको सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
यसअघि गत मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
सर्वोच्च प्रशासनका अनुसार अब आईजीपी केसीले औपचारिक रूपमा म्याद बुझेपछि मात्र यस रिटमाथिको आगामी सुनुवाइको नयाँ मिति तय गरिनेछ ।

