अदालतको म्याद छल्दैमा ‘आईजीपी विवाद’ को सुनुवाइ नरोकिने, बुझ्न नमाने घरमै टाँसिनेछ म्याद

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदको विवादमा सर्वोच्च अदालतको म्याद बुझ्न नमाने पनि सुनुवाइ अनिश्चितकालसम्म नरोकिने भएको छ । कसैले म्याद छल्न वा बुझ्न अस्वीकार गरेमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिको घर वा कार्यालयको ढोकामै म्याद टाँस गर्न सकिने व्यवस्था छ, जसले निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइलाई अघि बढाउने बाटो खुला राखेको छ ।

यसअघि अदालतका तामेलदार म्याद लिएर प्रहरी प्रधान कार्यालय पुग्दा कर्मचारीले आईजीपी डा. मनोजकुमार केसी बैठकमा रहेको भन्दै दिनभर कुराएको र अन्त्यमा म्याद बुझ्न अस्वीकार गरेको प्रतिवेदन इजलासमा पेस भएको थियो । सोही विषयमा सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अब सो म्याद प्रहरी प्रधान कार्यालयकै कानून व्यवसायीमार्फत तामेल गर्न कडा आदेश दिएको छ ।

बहसका क्रममा विपक्षीका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले मात्र म्याद बुझ्न नसकिएको स्पष्टीकरण दिँदै अब पुनः जारी भएमा बुझ्ने प्रतिबद्धता जनाएका थिए । इजलासले प्रक्रियालाई थप नलम्ब्याई प्रहरीकै कानून व्यवसायीमार्फत म्याद तामेल गर्न, महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउन र आईजीपी नियुक्तिसम्बन्धी प्रधानमन्त्री कार्यालयको सक्कल निर्णय फाइल पेस गर्न निर्देशन दिएको छ ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ ले अदालतको म्याद बुझ्न अस्वीकार गर्ने वा प्रक्रियामा अवरोध पुर्‍याउने प्रवृत्तिलाई कडाइका साथ सम्बोधन गरेको छ । संहिताको दफा १०५ अनुसार सम्बन्धित व्यक्तिले म्याद बुझ्न नमाने तामेलदारले अस्वीकार गरेको व्यहोरा मुचुल्कामा उल्लेख गरी स्थानीय प्रतिनिधि र साक्षीको रोहबरमा सम्बन्धित व्यक्तिको घर वा कार्यालयको ढोकामा म्याद टाँस गर्न सक्ने व्यवस्था छ । यसरी विधिसम्मत रूपमा म्याद टाँस भएपछि कानूनी रूपमा म्याद तामेल भएको मानिन्छ । त्यसैगरी, संहिताको दफा ११६ ले म्याद तामेलीमा अवरोध पुर्‍याउने वा कानूनी प्रक्रिया पूरा गर्न नदिने कार्य गरेमा जरिवाना वा कैदसमेत हुन सक्ने कडा प्रावधान राखेको छ ।

यो विवाद गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् निर्णयबाट सुरु भएको हो । सरकारले सोही दिन तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । आफ्नो सरुवा र केसीको बढुवा गैरकानूनी तथा स्वेच्छाचारी रहेको दाबीसहित कार्कीले कात्तिक २० गते सर्वोच्चमा पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए ।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । अब सोमबारको संयुक्त इजलासले म्याद तामेलीको प्रक्रियालाई टुङ्गो लगाउँदै आगामी मंसिर ९ गतेका लागि अर्को पेसी तोकेको छ र उक्त सुनुवाइलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

प्रहरी संगठनको नेतृत्व फेरबदलको कानूनी वैधतासँग जोडिएको यो मुद्दामा मंसिर ९ गते हुने सुनुवाइलाई निकै चासो र महत्वका साथ हेरिएको छ । म्याद तामेली विधिसम्मत रूपमा पूरा भई सक्कल फाइलसहित बहस अघि बढेपछि अदालतले कार्कीले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णायक आधार तय गर्नेछ । यसले प्रहरी नेतृत्वको विवादसँगै सुरक्षा निकायको प्रशासनिक स्थिरता र भविष्यको कार्यदिशामा समेत महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज