काठमाडौँ । संविधान र प्रचलित कानूनले सुनिश्चित गरेको आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क विद्यालय शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार (मंसिर ९ गते) प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै मुद्दालाई अग्राधिकारसमेत प्रदान गरेको हो।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बाबुराम दाहाल, अधिवक्ताहरू रामचन्द्र पौडेल, ब्रतराज न्यौपाने, अनिल आचार्य, मधुकर रिजाल, सुनिलकुमार पटेल र दिनेश लामिछानेसहितले बहस गरेका थिए।
अधिवक्ता अनिल आचार्य, अधिवक्ता मधुकर रिजाल, कानून खबर प्रा.लि.का प्रधान सम्पादक सुमन कुमार लुइटेल तथा बिड मिडिया प्रा.लि.का अध्यक्ष बिकल गिरीसमेतको वारेस भई आफ्नो हकमा समेत श्याम बहादुर ढकालले मंगलबार (मंसिर ८ गते) सर्वोच्च अदालतमा परमादेशसहितको रिट निवेदन दर्ता गरेका थिए। तारेख पर्चामा निवेदकका तर्फबाट अधिवक्ता अनिल आचार्य समेत र प्रत्यर्थीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत उल्लेख छ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सानोठिमी), नेपाली सेनाको प्रधान कार्यालय, सशस्त्र प्रहरी बलको मुख्य कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ। यसैगरी भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालय, काठमाडौँको सामाखुसीस्थित नेपाल पुलिस स्कुल, कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुल र बुढानीलकण्ठ स्कुलसमेत गरी ११ निकायलाई प्रत्यर्थी बनाइएको छ।
संविधान जारी भएको एक दशक पुग्दासमेत निःशुल्क शिक्षा केवल मौलिक हकमा मात्र सीमित रहेको र व्यवहारमा लागू हुन नसकेको निवेदकहरूको जिकिर छ। रिट निवेदनको मुख्य सार, कानूनी पृष्ठभूमि र शुल्क असुलीको अवस्थाबारे अधिवक्ता अनिल आचार्य भन्छन्, नेपालको संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गरेको छ। तर राज्यले आवश्यक बजेट, पूर्वाधार र वित्तीय संरचना नबनाउँदा सामुदायिक विद्यालयमा सहयोगका नाममा रकम उठाउने तथा संस्थागत र सरकारी निकायसम्बद्ध विद्यालयमा समेत शुल्क लिएर पठनपाठन गराउने अवस्था सिर्जना भएको छ।
निवेदनमा शिक्षा मन्त्रालयका सहसचिव प्रमुख रहने गरी सञ्चालित बुढानीलकण्ठ स्कुलमा सरकारी स्रोतसाधन प्रयोग गरी विद्यार्थीसँग महँगो शुल्क लिएर निजीसरह विद्यालय सञ्चालन भइरहेको उल्लेख छ। यस्तै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन, बर्दिवास, बुटवल र काठमाडौँका सैनिक आवासीय महाविद्यालय तथा विजेश्वरी, रिपुमर्दिनी र श्वेततारा सैनिक विद्यालयमा पनि शुल्क असुली भइरहेको दाबी गरिएको छ।
त्यसैगरी नेपाल प्रहरी कल्याणकारी कोषबाट सञ्चालित काभ्रेको साँगा, काठमाडौँको सामाखुसी, सुनसरीको धरान, रौतहटको गरुडा, चितवनको भरतपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको छिन्चु र कैलालीको धनगढीस्थित नेपाल पुलिस स्कुल तथा सशस्त्र प्रहरी बल कल्याणकारी कोषबाट सञ्चालित काठमाडौँको चोभार, बाँकेको कोहलपुर र सप्तरीको शम्भुनाथस्थित नेपाल एपीएफ स्कुलका साथै नमुना र सामुदायिक विद्यालयले समेत विभिन्न शीर्षकमा महँगो शुल्क उठाइरहेको विषय रिटमा उठाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले विद्यालय वा शैक्षिक संस्थाले कुनै पनि शीर्षकमा शुल्क असुल नगरी दिने शिक्षालाई निःशुल्क शिक्षाका रूपमा परिभाषित गरेको तर्क रिटमा गरिएको छ।
निवेदनमा नेपालको संविधानको धारा १७, १८, ३१, ४६, १३३(२)(३) तथा धारा ५७ र अनुसूची ८, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ का विभिन्न व्यवस्था पालना नभएको दाबी गरिएको छ। साथै निःशुल्क शिक्षासम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन भए नभएको विषयमा फोन तथा हुलाकमार्फत लिखित जानकारी माग्दा पनि जवाफ नपाएर सूचनाको हकबाट वञ्चित हुनुपरेको जिकिर निवेदकहरूले गरेका छन्।
निजी क्षेत्रको लगानी, कानूनी दायित्व र सम्भावित समाधानको मोडलका विषयमा निजी लगानीको वैध सम्पत्ति, सञ्चालन खर्च र उचित प्रतिफलको सुरक्षा गर्दै विद्यार्थी भौचर, प्रतिविद्यार्थी अनुदान र सार्वजनिक निजी सहकार्यमार्फत शैक्षिक सत्र २०८४ देखि निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्नुपर्ने रिटमा माग गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संविधानको अनुसूची ८ बमोजिम विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकार सूचीमा रहेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, शुल्कको पारदर्शिता र अनुगमन, छात्रवृत्ति तथा समावेशी पहुँच, बहुवर्षीय बजेट तथा वित्तीय योजना, शैक्षिक सत्र २०८३ देखि तत्काल सम्भव हुने सुधार प्रारम्भ गर्ने तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश र नियम ७३ बमोजिम अग्राधिकारसहितको आदेश माग गरिएको छ। साथै गैरकानूनी शुल्क असुलीलाई अनुमति दिने कुनै निर्णय वा पत्राचार भेटिए उत्प्रेषणको आदेशले बदर गरी निःशुल्क शिक्षा कार्यान्वयन गरिनुपर्ने जिकिर पनि निवेदनमा गरिएको छ।


