नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने भोजबाबुविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी सेवामा प्रवेश गरी सार्वजनिक पद र सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्यूठानको सरुमारानी गाउँपालिका-४ निवासी सोमै मगरले सिभिल इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण गरेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुईवटा सरकारी निकायमा करार सेवामा नियुक्ति लिएका थिए।

उनले सुरुमा ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयमा सहायक प्रशिक्षक अर्थात् प्राविधिक शिक्षक पदमा सोही नक्कली प्रमाणपत्र पेस गरेर करिब दुई वर्षसम्म करार सेवामा काम गरेका थिए।

त्यसपश्चात उनले उक्त विद्यालयको जागिर छाडी नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा समेत सोही नक्कली प्रमाणपत्रको भरमा करार नियुक्ति लिएको अनुसन्धानबाट खुलेको छ।

उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र प्रयोग गरेर सार्वजनिक पदको दुरुपयोग गरेको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग दाबी गरेको छ।

सार्वजनिक निकायमा पेस हुने कागजातहरूको विश्वसनीयता र पारदर्शिता कायम राख्न तथा शैक्षिक प्रमाणपत्रको छानबिनलाई थप कडाइ गर्न यस प्रकारका मुद्दाहरूले महत्त्वपूर्ण कानूनी नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज