दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार, ७ दिनभित्र पेसी तोक्न आदेश

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार (९ मङ्सिर २०८३) दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

अदालतले अन्तरिम आदेश नदिनुको प्रमुख आधारका रूपमा नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले पद र कार्यभार सम्हालिसकेको अवस्थालाई औँल्याएको छ । मिसिल अध्ययनका क्रममा डा. केसी गत कात्तिक १८ गतेको निर्णयअनुसार आईजीपी पदमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको देखिएको आदेशमा उल्लेख छ । साथै, प्रहरी सङ्गठनको नेतृत्व र देशको शान्ति सुरक्षासँग जोडिएको विषय सार्वजनिक महत्त्व र संवेदनशील प्रकृतिको भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको इजलासको ठहर छ ।

यसैगरी, रिटमा उठाइएका न्यायिक उपचार र कानुनी प्रश्नहरू अन्तिम सुनुवाइका क्रममा निरूपण हुने प्रकृतिको देखिएको तथा सुविधा सन्तुलनको दृष्टिबाट समेत अन्तरिम आदेश दिन उपयुक्त नदेखिएको अदालतले स्पष्ट पारेको छ ।

अन्तरिम आदेश अस्वीकार गरे पनि सर्वोच्चले विवादको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो सुनुवाइ हुनुपर्ने आवश्यकता औँल्याएको छ । सोहीअनुसार विपक्षीहरूबाट लिखित जवाफ पेस भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि ७ दिनभित्र पेसी तोक्न र पेसी तोकिएपछि दुवै पक्षले मुद्दा हटाउन वा स्थगित गर्न नपाउने गरी पूर्वसूचना दिन इजलासले आदेश दिएको छ ।

यसअघि कात्तिक १८ गते सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो भने सोही दिन एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरिएको थियो । उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय र डा. केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

बुधबारको बहसमा निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत, केदारप्रसाद कोइराला तथा अधिवक्ताहरू माधव बस्नेत, टीकाबहादुर कुँवर, सुजाता के.सी. र आभास रेग्मीले बहस गरेका थिए । सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेश घिमिरे र सोमकान्ता भण्डारीले बहस गरेका थिए । यस्तै, डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा र सञ्जीवराज रेग्मीले र प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज