काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार (९ मङ्सिर २०८३) रिटमाथि सुनुवाइ गर्दै सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने छनोट प्रक्रिया रोक्न माग गर्दै निवेदकहरूले अन्तरिम आदेशको माग गरेका छन् । उक्त मागबारे दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले आगामी मङ्सिर १४ गतेका लागि पेसी तोकेको छ ।
अदालतको आदेशमा मिसिल अध्ययन गरी निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, डा. भीमार्जुन आचार्य तथा अधिवक्ता हरिप्रसाद मैनालीले बहस गरेको उल्लेख छ । निवेदकहरूले आदेश र रिट निवेदनको प्रतिलिपिसहित विपक्षीहरूलाई सूचना म्याद जारी गर्न अदालतले निर्देशन दिएको छ ।
उक्त रिट नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल र सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे तथा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय ज्ञानेश्वरप्रसाद सिंह महतोले दायर गरेका हुन् । महतो यसअघिको छनोट प्रक्रियामा शीर्ष तीनमा परेका थिए । रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।
सुनुवाइका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरूले सीईओ छनोट प्रक्रिया नेपाल पर्यटन बोर्ड ऐन, २०५३, कर्मचारी सेवा विनियमावली तथा छनोट कार्यविधिविपरीत रहेको जिकिर गरेका थिए । ऐनको दफा १४ (१) अनुसार कार्यकारी प्रमुख बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने व्यवस्था भए पनि शैक्षिक योग्यता र कार्यअनुभवको पर्याप्त परीक्षण नगरी कात्तिक २० गते १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको निवेदकहरूको दाबी छ । बोर्डले २०८३ भदौ २६ गते सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो ।
नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ तथा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ का प्रावधानअनुसार स्नातकोत्तर उपाधि हासिल गरेपछिको अनुभवलाई आधार मान्नुपर्ने र पर्यटन क्षेत्रसँग सम्बन्धित संगठित वा कानुनद्वारा मान्यता प्राप्त संस्थामा अधिकृतस्तरको पदमा काम गरेको अनुभव हुनुपर्ने तर्क रिटमा गरिएको छ । संक्षिप्त सूचीमा परेका कतिपय उम्मेदवारको स्नातकोत्तरपछिको अनुभव १० वर्ष नपुगेको, तोकिएको प्रकृतिको संस्थागत अनुभव नरहेको तथा निजी एकल स्वामित्वको व्यवसायको अनुभवलाई संस्थागत अनुभवसरह मान्न नमिल्ने बहसकर्ताहरूको जिकिर छ ।
यसैगरी, दरखास्त स्वीकृत र अस्वीकृत भएका उम्मेदवारको विवरण सार्वजनिक नगरिएको तथा अयोग्य ठहरिएका उम्मेदवारलाई कारणसमेत नदिइएको भन्दै छनोट प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाइएको छ । योग्यता र अनुभवको वस्तुनिष्ठ परीक्षण नगरी प्रतिस्पर्धामा सामेल गराउँदा योग्य उम्मेदवार अन्यायमा पर्ने निवेदक पक्षको भनाइ छ ।

