काठमाडौँ। सरकारले नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही महत्त्वपूर्ण प्रावधानहरू संशोधन गरेको छ। यातायात व्यवस्था विभागले हालै एक सार्वजनिक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी गराएको छ।
संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ। यसअघि सवारी खरिद वा नामसारी गर्दा कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने नियम रहेकोमा अब उक्त झन्झट अन्त्य भएको छ। नयाँ प्रावधानअनुसार डिलरबाट गरिएको सवारी जाँचलाई नै आधिकारिक मान्यता दिइनेछ। यसअघि जस्तै सवारीसाधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा नै लगेर जाँच गराउनुपर्ने झन्झटिलो व्यवस्थालाई पूर्ण रूपमा हटाइएको छ।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको अधिकृत व्यक्तिमार्फत पनि काम फछ्र्यौट गर्न सकिनेछ। वारेसनामा पाएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्र लिएर कार्यालयमा उपस्थित भएर सवारी दर्ता तथा नामसारीको सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नेछन्। यसबाहेक, सवारी साधनको बीमा तथा बीमा नवीकरण गर्नका लागि पनि धनी स्वयं उपस्थित हुनुपर्ने अनिवार्यता हटाइएको विभागले जनाएको छ।
सवारी नामसारी प्रक्रियालाई थप प्रविधिमैत्री बनाउन बायोमेट्रिक विवरण संकलनको व्यवस्था मिलाइएको छ। यातायात व्यवस्था विभागबाट विआरएस (VRS) प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइपछि सवारी बिक्रेता, वितरक वा कम्पनीहरूले नै ग्राहकको बायोमेट्रिक विवरण लिन सक्ने गरी प्राविधिक पहुँच उपलब्ध गराइनेछ। सरकारको यस नयाँ निर्णयले सेवाग्राहीको समयको बचत हुनुका साथै यातायात कार्यालयमा हुने भिडभाड र अनावश्यक सास्ती कम हुने विश्वास गरिएको छ।


