काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार ठमेलको स्नोलाइन होटलमा अवैध रकम लुकाएर राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले मङ्गलबार दिउँसो छापा मारेको थियो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजारका साथै ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको हो ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि बरामद रकमको स्रोत तथा घटनाका अन्य पाटोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

