मोबाइल चोरीको मुद्दामा धरौटी तिर्न नसक्दा कारागार पुगेकी महिला मुक्त

काठमाडौं । सस्तो मूल्यमा मोबाइल खरिद गरेको विषयमा चोरीको मुद्दा खेपिरहेकी एक महिला तोकिएको धरौटी रकम तिर्न नसकेर तुलसीपुर कारागार चलान भएको घटनापछि स्थानीय समाजसेवी र अधिकारकर्मीको पहलमा मुक्त भएकी छिन् ।

दाङ जिल्ला अदालतको थुनछेक आदेशअनुसार आरोपित महिलालाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न भनिएको थियो । तर श्रीमान् गुमाएर ज्याला मजदुरीबाट परिवारको गुजारा चलाउँदै आएकी ती महिलाले आर्थिक विपन्नताका कारण उक्त रकम जम्मा गर्न नसक्दा कारागारमा बस्नुपरेको हो । उनी थुनामा परेपछि साना बालबालिका बिचल्लीमा परेका थिए ।

न्यायिक प्रक्रियामा धरौटी रकम तिर्न नसक्ने अवस्थाले विपन्न पक्षलाई थुनामै राख्नुपर्ने परिस्थिति सिर्जना गर्ने र धरौटीको मर्म तथा कानूनी सहायताको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको सरोकारवालाहरूको भनाइ छ । धरौटयोग्य कसुरमा आर्थिक अभावकै कारण थुनामा बस्नुपर्ने अवस्था आउन नदिन र विपन्न तथा असहाय पक्षलाई कानूनी सहायता तथा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न न्याय प्रशासनमा थप संवेदनशीलता र सुधार आवश्यक रहेको औँल्याइएको छ ।

घटनाबारे जानकारी पाएपछि स्थानीय समाजसेवी र अधिकारकर्मीहरूले पहल गरी धरौटी रकम संकलन गरेका थिए । संकलित रकम अदालतमा बुझाइएपछि ती महिला कारागारबाट मुक्त भई आफ्ना बालबालिकासँग पुनर्मिलन भएको छ । यस घटनाले कानूनको कार्यान्वयन र न्यायमा पहुँचको सवालमा कमजोर आर्थिक अवस्था भएका नागरिकले भोग्ने व्यावहारिक कठिनाइ उजागर गर्दै आगामी दिनमा कानूनी सहायतालाई अझ सुदृढ बनाउनुपर्ने सन्देश दिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज