राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसद खगेन्द्र सुनार पुन: एक पटक गम्भीर विवादको केन्द्रमा तानिएका छन्। हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो रेकर्डिङमा उनले एक महिला पूर्व सांसदलाई लक्षित गरी अत्यन्तै अमर्यादित, आपत्तिजनक लाञ्छना, गालीगलौज तथा मार्नेसम्मको धम्की दिएको सुनिएको छ। राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले समेत हिंसाको पनि हद हुने भन्दै आपत्ति जनाएको यस प्रकरणबारे रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी केन्द्रीय अनुशासन आयोगलाई छानबिनको निर्देशन दिइएको जानकारी गराएका छन्।
यस अश्लील अभिव्यक्तिसहितको भिडियो/अडियो सार्वजनिक भएपछि आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सांसद सुनारले प्रहरीले आफूविरुद्ध अफवाह फैलाएको दाबी गरेका छन्। उनले आफूले प्रहरी सङ्गठनमा भएको भ्रष्टाचारको विषयमा बोलेपछि प्रहरी सङ्गठनबाटै षड्यन्त्रपूर्वक यस्तो काम गरिएको आरोप लगाएका हुन्।
खगेन्द्र सुनार २०८२ फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके–३ बाट प्रत्यक्ष निर्वाचित एकमात्र दलित समुदायका सांसद हुन्। दलित अधिकारका लागि आफ्नै हातखुट्टामा नेल लगाएर माइतीघरमा विरोध प्रदर्शन गर्ने जस्ता सङ्घर्षशील पृष्ठभूमिका व्यक्तिले नै एक महिला र निजको बच्चासम्मलाई मार्ने धम्की दिएको अडियो सार्वजनिक हुनुले उनको सार्वजनिक छवि, नैतिकता र अधिकारप्रतिको निष्ठामा ठूलो विरोधाभास र प्रश्नचिह्न खडा गरेको छ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दा विचाराधीन छ, जहाँ फेसबुक लाइभमार्फत आपत्तिजनक भाषा प्रयोग गरेको अभियोगमा उनी ५० हजार धरौटीमा रिहा भएका थिए।
राजनीतिमा प्रवेश गर्नुअघि पत्रकारितामा संलग्न सुनारको विगत धेरै अघिदेखि नै विवादास्पद रहेको प्रहरीको सीआरएस रेकर्ड र अदालती प्रक्रियाबाट पुष्टि हुन्छ। उनीविरुद्ध हाल तीन वटा फौजदारी मुद्दाहरू अदालतमा विचाराधीन रहेका छन्। २०८१ असार ७ गते सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड गरी स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा डा. सोजन सापकोटाको जाहेरीका आधारमा उनीमाथि मुद्दा चलिरहेको छ। त्यस्तै अधिवक्ता मनिषा गौतमको जाहेरीमा काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दा विचाराधीन छ, जहाँ फेसबुक लाइभमार्फत आपत्तिजनक भाषा प्रयोग गरेको अभियोगमा उनी ५० हजार धरौटीमा रिहा भएका थिए। यसअघि २०८० असारमा सुर्खेतमा सार्वजनिक शान्ति विरुद्धको कसुरमा २० हजार धरौटी बुझाएर उनी छुटेका थिए।
सांसद सुनार प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रस्तावित राजदूत नियुक्ति प्रकरण, गाईसम्बन्धी विवादित अभिव्यक्ति, तथा संसदीय समिति एवं अन्तरवार्ताहरूमा प्रहरी महानिरीक्षकलाई ‘वर्दी फुकालेर राजनीतिमा आउन’ दिएको खुला चुनौतीजस्ता घटनाका कारण निरन्तर चर्चामा रहँदै आएका छन्।
सांसद खगेन्द्र सुनारको शृङ्खलाबद्ध विवाद, फौजदारी मुद्दाहरू र पछिल्लो धम्कीपूर्ण अडियो काण्डले उनको व्यक्तिगत राजनीतिक भविष्यलाई मात्र नभई उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासन, नैतिकता र कानुनी शासनप्रतिको प्रतिबद्धतामाथि ठूलो प्रश्न उठाएको छ। आफ्ना सांसदमाथि उठेका यस्ता गम्भीर प्रश्नहरूमा रास्वपाले गर्ने छानबिन र लिने कारबाहीको निर्णयले नै पार्टीको राजनीतिक परिपक्वता र जनताप्रतिको जवाफदेहिता तय गर्नेछ।

