काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार साँझ ललितपुरको सानेपा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार भट्टलाई नियन्त्रणमा लिई प्रहरी परिसर (भद्रकाली) को हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणका साथै नेपाल राष्ट्र बैंक ऐन विपरीतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
अवैध वित्तीय कारोबार तथा इनाम सापकोटासँगको संदिग्ध कनेक्सन र आर्थिक लेनदेनको विषय जोडिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले घटनाको विस्तृत विवरण र कानुनी प्रक्रियाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

