काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी सम्पूर्ण कार्य अब अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्ने व्यवस्था मिलाएको छ। सरकारको नतिजामा आधारित शासकीय सुधार कार्यक्रमअन्तर्गत नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त सेवा प्रदान गर्न यस्तो कदम चालिएको विभागले जनाएको छ।
भूमि प्रशासन निर्देशिका, २०८१ को व्यवस्था बमोजिम अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आउँदो २०८३ वैशाख २१ गतेदेखि यो सेवा अनलाइनबाटै सञ्चालन गर्नुपर्नेछ । त्यसैगरी, अन्य क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको हकमा भने २०८३ जेठ १ गतेदेखि यो व्यवस्था अनिवार्य रूपमा लागू हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
सेवा प्रवाहलाई मुहारविहीन (faceless), समयबद्ध (time-bound) र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यका साथ यो निर्णय लिइएको हो। यस नयाँ व्यवस्थासँगै अब धितो फुकुवाका लागि कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हट्ने छ ।


