प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि रास्वपा सांसद विश्वराज पोखरेलद्वारा क्षमायाचना

काठमाडौं । ओखलढुङ्गाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पदीय मर्यादाको विषयलाई लिएर थर्काएको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वएआईजी समेत रहेका सांसद पोखरेलले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै आत्मसम्मानमा चोट पुगेकाहरूसँग हृदयदेखि क्षमायाचना गरेका हुन्।

उनले गत वैशाख ९ गतेको उक्त घटनामा आफूबाट अझ बढी धैर्य र मर्यादा प्रदर्शन हुनुपर्ने महसुस गर्दै आगामी दिनमा थप जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौतर्फी आलोचनापछि स्पष्टीकरण दिँदै सांसद पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले घटनाको पूर्ण वास्तविकता नदेखाएको जिकिर समेत गरेका छन्। यथार्थ परिस्थिति र समग्र सन्दर्भलाई नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाँट गरी भाइरल बनाइएकाले जनमानसमा भ्रम सिर्जना भएको उनको दाबी छ। प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको विषयमा आक्रामक रूपमा प्रस्तुत भएको देखिए पनि भिडियोले पूर्ण सत्य नबोलेको उनको तर्क छ। आफू पहिले पनि जनताको सेवक रहेको र भविष्यमा पनि सोही रूपमा काम गर्ने बताउँदै उनले यो विवादलाई चिर्दै संयमित भएर अघि बढ्ने बाचा गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज