ओखलढुंगा । नवनिर्वाचित सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो स्वागतमा नआएको भन्दै सार्वजनिक रूपमै थर्काएका छन् । निर्वाचनपछि पहिलो पटक मतदातालाई धन्यवाद दिन र भेटघाट गर्न खिजिदेम्बा गाउँपालिका पुगेका सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालय, पोल्थलीका प्रधानाध्यापक शान्तबहादुर मगरलाई विद्यालयको प्राङ्गणमै पदको धाक देखाउँदै सातो लिएका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रधानाध्यापक मगरले आफू कार्यालयको एउटा जरुरी पत्र तयार पार्न व्यस्त रहेको स्पष्टीकरण दिइरहँदा पनि सांसद पोखरेलले भने आफ्नो पदीय मर्यादा र पूर्वप्रशासकको दम्भ देखाउँदै निरन्तर अपमानजनक व्यवहार गरिरहेको देखिन्छ ।
जनप्रतिनिधिको मर्यादा र शिष्टाचारको बेवास्ता गरिएको भन्दै प्रधानाध्यापकमाथि खनिएका सांसद पोखरेल त्यसपछि आफ्ना गुनासा सुनाउन कुरिरहेका स्थानीय नागरिकहरूलाई समेत नभेटी बीचैबाट हिँडेका थिए । सांसद रिसाएर हिँडेपछि स्थानीय बासिन्दाहरू थप रुष्ट बनेका भिडियोमा देखिन्छ । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता तथा कार्यकर्ताहरूप्रति कडा आक्रोश पोखेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई मात्र ५ मतको झिनो अन्तरले पराजित गरेका पोखरेलको यो शैलीलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
सांसद पोखरेलको यस्तो व्यवहार सार्वजनिक भएलगत्तै उनका निकटतम प्रतिस्पर्धी कुमार लुइटेलले फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनलाई राजनीतिक संस्कार सम्झाएका छन् । लुइटेलले सांसद पोखरेललाई उनी अब २९–३० वर्ष फौजी अभ्यास गरेको विशिष्ट श्रेणीको निवृत्त कर्मचारी नभई जनताको सेवक भएको उल्लेख गरेका छन् । तपाईं अहिले हामी सबै ओखलढुंगे जनताको माननीय हुनुहुन्छ, राजनीतिमा आएपछि हामी सर्वदा जनताका सेवक हौं भन्ने बुझ्नुपर्छ, लुइटेलले लेखेका छन्, ूहाम्रा कारण कम्तिमा ओखलढुंगे जनताको आत्मसम्मानमा चोट लाग्नु हुन्न ।
विद्यालयको हेडसरसँगको संवाद पदीय मर्यादालाई पटक्कै सुहाएन ।ू यो घटनाले नवनिर्वाचित जनप्रतिनिधिको कार्यशैली र सार्वजनिक पदमा बसेका व्यक्तिको व्यवहारमाथि गम्भीर नैतिक प्रश्न उठाएको छ ।
हेर्नुस भिडियोः

