काठमाडौं । सरकारी बोलपत्र (टेण्डर) को वेबसाइटमा अनधिकृत पहुँच राखेर आफ्नै कम्पनीलाई ठेक्का पारेको गम्भीर कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीले पाण्डेको गिरफ्तारीको पुष्टि गर्दै उनले सरकारी प्रणालीमा पहुँच पुर्याएर व्यावसायिक लाभ लिएको अभियोगमा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।
कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डे यसअघि २०७९ सालमा सहरी विकास मन्त्रीका रूपमा कार्यरत थिए । पाण्डेमाथि यसअघि पनि सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो समय सरकारी बोलपत्र प्रणालीमै हस्तक्षेप गरी ठेक्का पारेको नयाँ तथ्य खुलेपछि प्रहरीले उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

