कानून मन्त्री गौतम र राजदूत पार्कबीच भेटवार्ता

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क तियोङले शिष्टाचार भेटघाट गर्नुभएको छ। मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा राजदूत पार्कले मन्त्री गौतमलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटका अवसरमा दुई देशबीचको कुटनीतिक सम्बन्ध र विशेषगरी कानूनी तथा न्यायिक क्षेत्रमा भइरहेका आपसी हितका विषयमा गहन छलफल भएको छ।

विशेषगरी न्यायको पहुँचलाई सरल र सहज बनाउनका लागि अघि सारिएको डिजिटल रूपान्तरणको प्रक्रियामा गणतन्त्र कोरिया र मन्त्रालयबीच भइरहेको साझेदारी कार्यक्रमलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्। मन्त्री गौतम र राजदूत पार्कबीच विधिको शासनप्रति प्रतिबद्ध रहँदै कानून तथा न्यायको क्षेत्रमा सहकार्य गर्ने र सुशासनलाई थप सुदृढ बनाउने विषयमा सार्थक संवाद भएको थियो। सो अवसरमा मन्त्री गौतमले कोरियाली सरकारलाई आवश्यक पर्ने कुनै पनि विषय वा चासो भएमा त्यसका लागि नेपाल सरकार छलफल गर्न सधैँ खुला रहेको स्पष्ट सन्देश दिनुभयो। यो भेटघाटले नेपाल र कोरियाबीचको कानूनी सहकार्य र प्रविधि हस्तान्तरणको दिशामा नयाँ इँटा थप्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज