गोर्खा मिडियाका पत्रकारलाई सेवा सुविधा र पारिश्रमिक उपलब्ध गराउन श्रम अदालतको फैसला

काठमाडौं । श्रम अदालतले लामो समयदेखि पारिश्रमिक र सेवा सुविधाबाट वञ्चित गोर्खा मिडिया नेटवर्क प्रालिका पत्रकारहरूको पक्षमा फैसला सुनाएको छ । अदालतका अध्यक्ष जनक पाण्डे र सदस्य शैलेन्द्रकुमार चौरसियाको इजलासले गत चैत १६ गते पत्रकारहरू बासु खड्का र गौतम रेग्मीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै कानून बमोजिमको सम्पूर्ण रकम उपलब्ध गराउन आदेश दिएको हो ।

पत्रकार खड्काले आफ्नो सेवा सुविधाको माग गरेका थिए भने रेग्मीले रोकिएको पारिश्रमिक, उपचार खर्च तथा सामाजिक सुरक्षा कोषको रकम पाउनुपर्ने दाबी गर्दै अदालतमा न्यायका लागि निवेदन दिएका थिए ।

हाल बन्द अवस्थामा रहेको गोर्खा मिडिया नेटवर्क र यसका सञ्चालकहरू कानूनी छानबिनको घेरामा रहेकै बेला अदालतको यो फैसला आएको हो ।

फरार रहेका सञ्चालक जिबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतमाथि अनुसन्धान भइरहेको पृष्ठभूमिमा श्रम अदालतले पत्रकारको श्रमको सम्मान गर्दै भुक्तानीको आदेश दिएको छ । यस मिडियामा कार्यरत करिब ९४ जना पत्रकारहरूले एक वर्षदेखि आफ्नो पारिश्रमिक पाउन सकेका छैनन्, जसका लागि यो फैसलाले न्यायको ढोका खोलेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज