काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीलाई प्रहरीले काठमाडौँको जडिबुटीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ स्थायी घर भएका ३४ वर्षीय भीमबहादुर वाइबा रहेका छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको विशेष टोलीले आइतबार नियन्त्रणमा लिएको हो । वाइबा केही समयअघि भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका थिए ।
वाइबालाई जबरजस्ती करणी मुद्दामा अदालतले आठ वर्षको कैद सजाय सुनाएको थियो । उनले तीन वर्ष कैद भुक्तान गरिसकेका थिए भने अझै पाँच वर्षको कैद सजाय बाँकी रहेको प्रहरीले जनाएको छ । कारागार प्रशासन र सुरक्षा निकायले फरार कैदीहरूको खोजी कार्यलाई तीव्रता दिने क्रममा उनी फेला परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका वाइबालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । फरार भएको अवधिमा उनले गरेका गतिविधि र अन्य संलग्नताका बारेमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कारागारबाट कैदी फरार हुनुलाई सुरक्षा संवेदनशीलताको रूपमा लिँदै प्रहरीले अन्य फरार व्यक्तिहरूको खोजी कार्यलाई पनि निरन्तरता दिएको छ ।

