काठमाडौं । ललितपुरको बी एन्ड बी अस्पतालस्थित आइभिएफ क्लिनिकबाट १७ वर्षीया नाबालिकाको डिम्ब गैरकानूनी रूपमा निकालेको प्रकरणमा मुछिएकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा हाजिर जमानीमा रिहा भएकी छन्। विदेशबाट फर्किएलगत्तै प्रहरीमा उपस्थित भएकी डा. शर्मालाई नियन्त्रणमा लिई सरकारी वकिलको कार्यालय ललितपुरमा बयान गराइएपछि आवश्यक परेको बेला उपस्थित गराउने गरी हाजिर जमानीमा छाड्न आदेश दिइएको हो।
प्रहरीसमक्ष दिइएको बयानमा डा. शर्माले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएकी छन् । ललितपुर प्रहरीले यसअघि नै इमाडोलमा ब्युटिसियनको काम गर्ने राधिका गोतामेलाई नियन्त्रणमा लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको थियो। आर्थिक रूपमा कमजोर नाबालिकालाई विभिन्न प्रलोभनमा पारी ३० हजार रुपैयाँ दिएर क्लिनिकसम्म पुर्याउने र डिम्ब झिक्ने धन्दामा गोतामे र डाक्टरको मिलेमतो रहेको आरोप छ। डिम्ब निकालेपछि किशोरी गम्भीर बिरामी परेपछि यो अवैध धन्दाको पर्दाफास भएको थियो।

